Logo

पार्टी एकताको चर्चाबीच प्रचण्डसँग विप्लवको सम्बन्ध बिग्रियो



काठमाडौं,३ असार । संसदीय राजनीतिमा लाग्दा जनयुद्धले ल्याएको अवसर र परिवर्तन गुम्ने खतरा बढेको भन्दै देश शान्तिप्रकृयामा आएको झण्डे डेढ दशकसम्म भूमिगत राजनीति गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत महिना भने अनौठो निर्णय गरे ।

काठमाडौंमा बसेको पार्टीको बैठकले भूमिगत राजनीतिले मात्र देश उँभो लाग्न नसक्ने भन्दै आगामी संसदीय निर्वाचनमा भाग लिने र त्यसका लागि विचार मिल्ने दलसँग सहकार्य हुँदै एकता गर्नेसम्मको निर्णय गर्यो । त्यसो त खुल्ला राजनीतिमा आएपछि गत वर्ष ४ कम्युनिष्ट घटक मिलेर समाजवादी मोर्चा बन्यो । जसमा विप्लवको भूमिका पनि महत्वपूर्ण थियो । उनी हाल समाजवादीको मोर्चाको संयोजकको जिम्मेवारीमा छन् । यद्यपी समाजवादी मोर्चाको भविष्य भने संकटमा छ ।

समाजवादी मोर्चा हुँदै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर संसदीय राजनीतिमा होमिने र सबै कम्युनिष्ट घटकहरुलाई एकताबद्ध गर्ने बताउँदै आएका विप्लवको पछिल्ला दिनमा भने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध बिग्रिएको छ । माओवादीसँग पार्टी एकता गर्ने भन्दै दिनहुँ जस्तो बालुवाटार धाउने विप्लव पछिल्ला दिनमा प्रचण्डसँग टाढिदै गएको चर्चा हुने गरेको छ ।

त्यसोत, प्रचण्ड पनि (विप्वलव) लाई माओवादीमा भित्र्याउन तम्तयार देखिने गरेका थिए । उनले सार्वजनिक मञ्चबाटै पटक-पटक (विप्लव) को पार्टीसँग सहकार्य गर्ने बताउने गरेका थिए । खासगरि विप्लवलाई माओवादीमा भित्र्याउने प्रचण्डको इच्छामा पार्टीमा देखिएको गुटगत राजनीतिलाई हेर्ने गरिन्छ । माओवादीमा प्रचण्डपछिको उत्तराधिकारी को हुने भन्नेबारेमा उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनबीच लडाईं नै चलेको छ । यी दुवैले महासचिवमा दाबी गरेपछि प्रचण्डले संसदीय भूमिका र सत्ता राजनीतिमा अत्यन्तै कमजोर मानिने देव गुरुङलाई महासचिव नियुक्त गरेका थिए ।

महासचिव नपाएको रिस फेर्न जनार्दनले पटक-पटक प्रचण्डको भनाईमा असहमति राख्दै आएका छन् । एकातिर जनार्दनको असहमति र अर्कातिर वर्षमानको एमाले पार्टीप्रतिको निकटताले चेपुवामा परेका प्रचण्ड बरु विप्लवलाई पार्टीमा भित्र्याएर महासचिवको जिम्मेवारी दिन चाहान्थे । त्यस्को लागि उनले पटक-पटक छलफल पनि चलाएका थिए । शर्मा र पुनसहितको गुटले रोक्ने प्रयास गर्दापनि प्रचण्डले निरन्तर विप्लवसँग सहकार्य गर्ने इच्छा राखेका थिए । तर, यति हुँदाहुँदै पनि प्रचण्डसँग विप्लव स्वयं टाढिदै गएका छन ।

किन टाढिँदै छन् विप्लव ?

प्रचण्डसँग विप्लव टाढिनुको प्रमुख कारणहरुमा बजेट, प्रचण्डको कार्यशैली, जसपा नेपाल विभाजन र हालैको भारत भ्रमणलाई लिने गरिन्छ । समाजवादी मोर्चा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) गत महिना विभाजित भयो । पार्टीका वरिष्ठ नेता अशोक राईसहितका बहुमत सांसदले पार्टी विभाजन गरेर जसपा गठन गरेका छन् । अशोक र उपेन्द्रबीचको मनमुटावले पार्टी फुटेको भनिएपनि खासमा त्यो विभाजन प्रचण्डको सत्तासँग जोडिएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र भित्रिरुपमा उनलाई सत्ताच्यूत गर्न प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेको सुईंको पाएपछि सत्तारुढ दलकै उक्साहटमा जसपा नेपाल विभाजन गराईएको आरोप लाग्यो । त्यसलाई बल पुग्नेगरि प्रचण्डले केही अभिव्यक्ति दिएपछि विप्लव रिसाएको स्रोतको दाबी छ । उनले उपेन्द्रलाई अपठ्यारो पर्नेगरि पार्टी नफुटाईदिन प्रचण्डसँग आग्रहसमेत गरेका थिए । तर, पार्टी विभाजन भयो । जसले गर्दा आफैले नेतृत्व गरिरहेको समाजवादी मोर्चाको भविष्यमाथि नै प्रश्न चिन्ह उठ्यो । यसकारण पनि माओवादी र विप्लवको सम्बन्ध बिग्रिएको बताईन्छ ।

आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजत बजेटमा सरकारसँग विप्लवले केही योजनाहरु समावेश गर्न आग्रह गरेका थिए । ती योजना कार्यान्वयनका लागि उनले बजेट माग गरेका थिए । तर अर्थमन्त्री पुन र माओवादीका प्रभावशाली नेताको जिल्लामा मात्र बजेट विनियोजन गरिएपछि उनी रिसाएका हुन् ।

विप्लव र प्रचण्डको सम्बन्ध बिग्रिनुको अर्का कारणलाई भारत भ्रमणलाई पनि लिने गरिन्छ । प्रचण्ड हालै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन नयाँ दिल्ली गएका थिए । विप्लव यसपटक प्रचण्ड भारत नजाउन भन्ने चाहान्थे । उनले भारत नजान प्रचण्डलाई सुझाव पनि दिएका थिए । तर, प्रचण्डले मानेनन् ।

त्यसोत विप्लव प्रचण्डको पछिल्लो कार्यशैलीप्रति समेत सन्तुष्ट छैनन् । पटकपटक उथलपुथलको नाममा सत्ता गठबन्धन परिवर्तन गरिरहेको भन्दै उनी असन्तुष्ट बनेका हुन् । कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध बनाएर नयाँ ढंगले अघि बढ्न चाहेपनि प्रचण्डको ढुलमुले प्रवृत्तिले अस्थिरता निम्तिएको भन्दै उनी असन्तुष्ट बनेका हुन् ।

प्रचण्डसँग असन्तुष्ट बनेका विप्लव पछिल्ला दिनमा नेकाप एमालेसँग नजिकिन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र विप्लवबीच यसबीचमा पटक पटक भेटवार्ता पनि भएको छ । सबै वाम घटकहरुलाई एकताबद्ध बनाउने र त्यसका लागि सहकार्य अघिबढाउने विषयमा यी दुईबीच छलफल भईरहँदा प्रचण्डसँग टाढिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विप्लव र प्रचण्डबीच सम्बन्ध बिग्रदै गएको कुरा केही दिनयता उनले दिँदै आएका अभिव्यक्तिले पुष्टि गर्दछ । प्रचण्ड सरकार धेरै नटिक्ने, अब छिट्टै प्रचण्ड घेराबन्दीमा पर्ने र प्रचण्डले केही गर्न नसक्ने अभिव्यक्रि विप्लवले दिँदै आएका छन् ।

प्रचण्डलाई अब जनताले छाड्दै जान्छन्, दुस्मनले च्याप्दै जान्छ: विप्लव

जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताले पनि क्षतिपूर्ति पाउनुपर्छः विप्लव



प्रतिक्रिया दिनुहोस्

Screenshot