Logo

टीआरसी विधेयकलाई सत्ता उलटपुलटको दाउपेच बनाइन हुँदैनः महेश बर्तौला



काठमाडौं, ३ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ता उलटपुलटको दाउपेच बनाउन नहुने बताएका छन् । आज (सोमबार) बेपत्ता परिवारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सशस्त्र द्वन्द्वसँग जोडिएका सबै विषयहरुलाई राफसाफ गर्नुपर्ने बताएका हुन् ।

बर्तौलाले सत्यको अन्वेशनको माध्यमबाट दोषीहरुलाई कानुनी दायरामा ल्याउने, पीडितहरुलाई परिपुरण र क्षतिपूर्तिसहित न्यायको प्रत्याभूति गराउने र हिजोको द्वन्द्वलाई देखाएर नयाँ प्रकारको द्वन्द्व नहुने कुराको सुनिश्चितता गर्नुपर्ने बताए । उनले आजसम्म शान्ति प्रक्रियाले पूर्णता नपाउनुमा धेरै थोरै सबैको कमीकमजोरी रहेको बताए । आगामी दिनमा यस्ता प्रकारका कमजोरी गर्ने छुट राजनीतिक दललाई नरहेको पनि उनले बताए ।

‘आजको दिनसम्मलाई कट अफ डेट मानेर समितिमा रहेको टीआरसी बिललाई अगाडि बढाउने, सबै राजनीतिक दलले जिम्मेवारी बोधका साथ सत्ताको विषय टीआरसी बिललाई बनाउन हुँदैन । सत्य निरुपणको विषयलाई सत्ता उलटपुलटको दाउपेच बनाइन हुँदैन । यो कुरामा हामी प्रष्ट छौं,’– उनले भने ।

साथै, टीआरसी बिल कानुन न्याय तथा मानव अधिकार समितिमा छलफलको क्रममा रहेको र आफूहरु फिनिसिङको तहमा पुगेको पनि उनले बताए । उक्त विधेयक अब छिट्टै संसद्मा लैजाने पनि उनले विश्वास दिलाए ।

उनले सरकार बेपत्ता, सहिद, अंगभंग भएर बसेका कयौं घाइतेहरु र उनीहरुको परिवारलाई न्याय प्रदान गर्ने पथमा जानुपर्ने बताए । अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहेको स्मरण गराउँदै उनले वर्तमान सरकारले द्वन्द्धका साह्रा घाउहरुलाई व्यवस्थापन गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot