Logo

यो सरकार जनताले अनुमोदित गरेर बनेको होईनः महेश बर्तौला (भिडिओसहित)



काठमाडौं, ४ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि संसद्मा पेश गरेको बजेटलाई आफ्नो पार्टीले व्यवहारिक र राजनीतिक रुपमा समर्थन गर्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले सरकारमा रहेकाले आफूहरु बजेट कार्यान्वयनको पक्षमा दृढतापूर्वक लाग्ने बताएका हुन् । वर्तमान सरकारले संसद्मा बजेट पेश गर्दा सत्तारुढ दलहरुबीच व्यापक छलफल हुन नसकेको उनले बताए । बजेटमा राँटापाटा रहेको र संयुक्त सरकारको चरित्र बमोजिम नरहेको उनको टिप्पणी छ । तर, पनि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेर बजेट पास गराउने उनले बताए ।

‘एमाले सरकारमा छ, त्यसकारण यो बजेट एमालेको बजेट हो । व्यवहारिक रुपमा यो बजेटलाई एमालेले समर्थन गर्छ । बजेट कार्यान्वयनका लागि एमाले दृढताका साथ लाग्छ । यो बजेट पारित गर्न एमालेले मतदान गर्छ । आफ्ना सबै माननीय सदस्यहरुलाई ह्वीप जारी गर्छौं । यसलाई निर्णयमा पुर्याउँछौं । कार्यान्वयन गरेर जाने कुरामा एमाले प्रष्ट छ ।’ उनले भने, ‘व्यवहारिक र राजनीतिक रुपमा पारित गरेपछि यो बजेटप्रति सैद्धान्तिक रुपमा हाम्रा सुझावहरु छन् । छलफलहरु व्यवस्थित ढंगबाट अगाडि जान सकेको भए राम्रो हुन्थ्यो । यसमा राँटापाटा छन् । यो सरकार एकल बहुमतले बनेको होईन । सामान्यतया संयुक्त सरकारको चरित्र बमोजिम त्यसका विशेषताहरुलाई सावेश गरेअनुसार हुनुपथ्र्यो । त्यसमा केही बाँकी छ ।’

वर्तमान सत्ता समीकरण ढाल्नेबारे कसैले सोेचेको भए त्यो पूरा नहुने उनले बताए । नेता बर्तौलाले वर्तमान सरकारलाई मजबुद बनाएर लानेमा एमाले प्रष्ट रहेको बताए । उनले भने, ‘सत्ता समीकरण र यो सरकारलाई ढाल्नका लागि कुनै कतैबाट कसैले सोचेको छ भनेपनि त्यो ठाउँमा परिस्थिति पुग्दैन । यो सरकारलाई मजबुद बनाएर लानेमा एमाले प्रष्ट छ ।’

वर्तमान सरकारलाई जीवन्त दिने, स्थिर सरकार र सुशासनको पक्षमा एमाले रहेको पनि उनले बताए । अहिले एमाले सरकार अदलीबदलीको खेलमा नरहेको बताउँदै उनले सरकारका गतिविधि ठीक नलागेको खण्डमा प्रष्ट भनेर निस्किने पनि बताए । उनले सरकार साझा भाव, साझा चरित्रका साथ अगाडि बढ्नुपर्ने कुरामा आफूहरु प्रष्ट रहेको बताए ।

‘यो सरकार पनि ढल्यो भने बनाउन खोजेको सरकार कुन हो ? हामी सरकार अदलबदलको खेलबाट धेरै टाढा छौं । यो सरकारमा एमाले आठ वटा मन्त्रालयसहित सहभागी छ । हामीलाई सरकारलाई जीवन्त दिने, स्थिरता र सुशासनको पक्षमा अगाडि बढेका छौं । सरकारमा रहेर सरकार ढाल्ने भन्ने पनि प्रश्न मिल्छ र ? जुनदिन हामीलाई यो सरकार ठीक लाग्दैन, त्यतिबेला हामी प्रष्ट ढंगले भन्नेछौं । एमाले पहिलो ठूलो दल हो यो सरकारको । साझा, भाव, साझा चरित्रका साथ अगाडि बढ्नुपर्छ भन्नेमा हामी प्रष्ट छौं,’– उनले भने ।

वर्तमान सरकार कुनै राजनीतिक सिद्धान्त र विचार मिलेर नबनेको उनले बताए । सरकार संसदीय अङ्क गणितको यथार्थतामा बनेको उनले बताए । उनले सरकारभित्र रहेका कतिपय दलहरुको व्यवहार र गतिविधिले केही संशय उब्जाए पनि आफूहरु राजनीतिक स्थिरताको पक्षमा रहेको बताए ।

‘सरकार ढल्दैन । अब साढे ३ वर्ष छ । हामीले मुलुकलाई स्थिरतातिर लानका लागि हाम्रो साझा दायित्व रहन्छ कि रहँदैन ? तर, एउटा संशय हुनसक्छ । एउटा सत्य के हो भने यो सरकार राजनीतिक विचार मिलेर, देश र जनताले अनुमोदित गरेर बनेको निर्माण भएको सरकार होईन ।’ उनले भने, ‘यो सरकार संसदभित्रको गणितको यथार्थताको जगमा १३८ संख्या पुर्याएर बनेको सरकार हो । सरकारभित्रै भएका कतिपय दलहरुको केही व्यवहार र गतिविधिले गर्दा कहिलेकाही प्रश्नहरु सरकारको भावी यात्राका बारेमा संशय त कतै हुँदैन भन्ने प्रश्नहरु सिर्जना भएका छन् । तपाथि हामी राजनीतिक स्थिरताको पक्षमा छौं ।’

आफूहरु विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । संविधानलाई कार्यान्वयन गरेर संघीयताको पक्षमा दलहरु उभिने हो भने सरकार ढालेर अर्को कुनै नयाँ सरकार सोच्ने प्रकारको खेतिपाती देशका लागि राम्रो नहुने उनको भनाइ छ । वर्तमान सरकारले देशलाई विकासको चमत्कारिक ठाउँमा पुर्याउन नसकेपनि बिग्रन भने नदिने उनले बताए । नेता बर्तौलाले भने, ‘देशलाई विकासको चमत्कारिक ठाउँमा पुर्याउन सक्छौं, सक्दैनौं त्यो म भन्न सक्दिँन । तर, म यति चाहीँ भन्नसक्छु– यो सरकारको माध्यमबाट देशलाई बिग्रने पथबाट रोक्न सक्छौं । राम्रो कति गर्छौं ? त्यो म भन्न सक्दिँन, तर, बिग्रन दिँदैनौं भन्ने चाहीँ म भन्नसक्छु ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot