Logo

एमालेको सदस्यता लिएपछि विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको सुविधा लिन पाइँदैनः रामहरि खतिवडा



काठमाडौं, ४ असार । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर गलत गरेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलको सदस्यता नवीकरण गर्नेले पूर्व राष्ट्रपतिको सुविधा त्याग्नुपर्ने बताए ।

‘नेकपा (एमाले) का सदस्यता लिनुभयो पूर्वराष्ट्रपतिले । त्यो ठीक थियो ? थिएन ? के उहाँ पूर्व राष्ट्रपतिको सुविधा त्याग्न तयार हुनुहुन्छ ? त्यसो भए त एमालेको नेतामात्रै बन्नुपर्यो नि त सदस्यता नविकरण गरेपछि,’– उनले भने ।

नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले अवधि सकिएपछि कुनै दलको सदस्यता नलिएको उनले स्मरण गराए । पद र प्रतिष्ठाको सम्मान गर्नसक्नुपर्ने उनको भनाइ छ । ‘नेपालको संस्थापक पहिलो राष्ट्रपति रामवरण यादव, उहाँले पनि त्यही गर्नुभयो त ? गर्नुभएन नि । पद र प्रतिष्ठाको सम्मान राख्नुपर्छ,’– नेता खतिवडाले भने ।

पूर्व राष्ट्रपति भण्डारीले केही समय अगाडि एमालेको सदस्यता नवीकरण गरेको समाचार विभिन्न सञ्चार माध्यमहरुले प्रकाशन, प्रशारण गरिसकेका छन् । यस विषयमा एमालेले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot