Logo

भ्रष्टाचार र तस्करी गर्न पाउनु मौलिक अधिकारजस्तो भयोः चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, ४ असार । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार र तस्करी गर्न पाउनु मौलिक अधिकारजस्तो भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचारी र तस्करीहरुलाई राज्यसत्तामा बसेकाहरुले नै जोगाइराखेको टिप्पणी गरे । उनले राज्यसत्तामा बस्नेहरुले भ्रष्टाचारी र तस्करीहरुलाई दण्ड सजाय दिनुको सट्टा उल्टै जोगाउनेतर्फ लागिरेहको बताएका हुन् ।

‘भ्रष्टाचार र तस्करी गर्न पाउने कुरा त मौलिक अधिकारजस्तो भयो । भ्रष्टाचारी र तस्करीहरुलाई त राज्य सत्तामा बसेकाले जोगाएर समस्यामा परियो । भ्रष्टाचार गर्नेहरुलाई राज्यसत्तामा बस्नेहरुले उचित सजाय दिनुको सट्टा बचाउन, जोगाउन हिँडेपछि राष्ट्रका लागि कलङ्क भयो,’– उनले भने ।

नेता केसीले सरकारले आर्थिक वर्ष ३०८१÷०८२ का लागि ल्याएको बजेट मन्त्रीहरुकै जिल्ला र निर्वाचन क्षेत्र केन्द्रीत रहेको टिप्पणी गरे । नेता केसीलले बजेटको सही वितरण नहुँदा आफू निर्वाचन क्षेत्रमा कसरी जाने भन्ने चिन्तामा रहेको बताए ।

‘सदनमा देखिहाल्नुभयो नि बजेट कस्तो आयो ? सत्तापक्षकै माननीयहरुको स्वर सुन्नुभएन ? प्रतिपक्षहरुले के पाए होलान् ? अब जो भान्से छ, उसैका जिल्ला र क्षेत्रमा बजेट गएपछि म आफ्नो निर्वाचन क्षेत्रमा कसरी जाउँ भन्ने सोचिरहेको छु । अब मतदाताले र्‍याख्र्‍याख्ती पार्छन्,’– उनले भने ।

साथै, मन्त्रिपरिषद् फेरबदलको प्रसंगमा उनले वर्तमान सरकारले मन्त्री र उपप्रधानमन्त्री बनाउने बाहेक अर्को काम गर्न नसकेको टिप्पणी गरे । उनले सरकारभन्दा बाहिर रहेकाहरु सरकार कसरी भत्काउने ? भन्ने खेलमा र सत्तामा रहेकाहरु कसलाई मन्त्री बनाउँदा शक्ति राष्ट्रको आशिर्वाद पाइन्छ भन्ने खेलमा रहेको टिप्पणी गरे ।

‘देशको विकास गर्दैनन्, मन्त्री, उपप्रधानमन्त्री नयाँ बनाउने यस्ता खेती गरिरहन्छन् । यो के नयाँ भयो र ? यिनीहरुको मुख्य काम सरकारमा कसरी जाने, कसरी कमाउने ?’ उनले भने, ‘सरकारभन्दा बाहिर रहेकाले सरकार कसरी भत्काउने, कुन व्यक्तिलाई सत्तामा लगेपछि शक्ति राष्ट्रको आशिर्वाद पाइन्छ ? यो सबै गर्दै आएका छन् । कुन नयाँ कुरा भयो र ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot