Logo

चिनियाँ परियोजना बीआरआई ऋणको रुपमा स्वीकार गर्दा नेपालले हिमालय बेल्ट गुमाउँछः सुन्दरमणि दीक्षित



काठमाडौं, ४ असार । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई ऋणको रुपमा स्वीकार गर्न नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआई परियोजनालाई श्रीलङ्काले ऋणको रुपमा स्वीकार गर्दा बन्दरागाह नै चीनको कब्जामा गएको बताए । उनले नेपालले बीआरआई परियोजनालाई ऋणको रुपमा स्वीकार गरेको खण्डमा ऋण तिर्न नसक्ने बताए । नेपालले ऋण तिर्न नसक्दा चीनले हिमाली भू–भाग कब्जा गर्ने डा. दीक्षितको भनाइ छ ।

‘अब त कम्युनिष्ट सरकार छ । चाइनाका मान्छे आएकाआयै छन् । भारतसँग हाम्रो पारिवारिक सम्बन्ध छ, तिमीसँग पनि घनिष्ट मित्रता छ भने हामीलाई किन ऋणमा डुबाउँछौं भन्न सक्नुपर्यो ।’ उनले भने, ‘हामीले ऋण लिन हुँदैन । लियो भनेदेखि, श्रीलङ्काले बन्दरगाहनै गुमायो । हामीले हिमालय बेल्ट गुमाउँछौं । तिर्न नसकेपछि त्यसको बापत केही लिन्छ, जग्गा लिन्छ । पूरै एभरेष्ट जान्छ । त्यसको परिकल्पना हामीले गरेका छैनौं । यस्तो परिस्थिति आउन सक्छ ।’

चीनले नेपाललाई ऋण नभएर सहयोग गर्नुपर्ने उनले बताए । चीनलाई छिमेकी राष्ट्रको हिसाबले ठूलो सहयोग गरेको दाबी गर्दै उनले नेपाल सहयोग लिनका लागि हकदार रहेको बताए । तर, बीआरआई परियोजनालाई ऋणको रुपमा भने स्वीकार गर्न नहुने उनको अडान छ ।

‘वान चाइना पोलिसी नेपालले स्वीकार गर्यो । सहर्स मान्यो, यहाँ टिबेटिएनहरुलाई हामीले क्याम्पमा राखेका छौं । दलाइ लामाको बर्थडे पनि हामी मान्न दिँदैनौं । त्यतिसम्म हामीले चाइनालाई सहयोग गरेका छौं । हामीले चाइनालाई गर्नुसम्म सहयोग गरेका छौं । चाइनाले हामीलाई ऋण दिने होईन, सहयोग गर्नुपर्यो,’– उनले भने ।

साथै, नेपालले चाइना र भारतलाई आपसमा भिडाउन नहुने उनको भनाइ छ । चाइना र भारतका बीचमा नेपाल पुल बनेर काम गर्न सक्नुपर्ने बताए । उनले नेपालको विदेश नीति एकदमै कच्चा रहेको टिप्पणी गरे । सरकार परिवर्तन भएसँगै व्यक्तिअनुसारको नीति हुने भन्दै उनले अहिले प्रचण्ड नीति रहेको टिप्पणी गरे । चाइनाले बीआरआई परियोजना अगाडि बढाउन नेपाललाई दवाब दिइरहेको पनि उनले खुलासा गरे ।

‘चाइनाले बीआरआईमा तत्काल अगाडि बढ भनेको छ । यो यस्तो खतारनाक कुरा छ, हामीले चाइनासँग अहिले ऋण लिएर अगाडि बढ्यौं भनेदेखि हामी त्यो ऋण तिर्न सक्दैनौं । हरेक नेपालीले बुझ्नुपर्यो भइराखेको ऋण पनि तिर्न सकिरहेका छैनौं,’– उनले भने ।

साथै, वर्तमान सरकारको काम कारबाहीबारे टिप्पणी गर्दै डा.दीक्षितले अहिले इतिहासकै सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको आरोप लगाए । डा. दीक्षितले अहिलेको जस्तो भ्रष्टाचार पञ्चायत कालमा पनि नदेखिएको दाबी गरे । गृहमन्त्री, प्रधानमन्त्रीले एकदमै सुशासन दिएको छौं भनेपनि यथार्थतामा त्यस्तो नरहेको बताए ।

डा.दीक्षितले भ्रष्टाचार नियन्त्रण गर्न सहकारी ठगी प्रकरणमा रवि लामिछानेको मुद्दा, गिरीबन्धु टी स्टेट, कञ्चनपुरको जग्गा, भुटानी शरणार्थी प्रकरण, माओवादी मुछिएको सुनकाण्ड, जनमुक्ति सेना सम्बन्धि क्यान्टोनमेन्ट घोटला र ललिता निवास जग्गा प्रकरण पहिला क्लियर हुन आवश्यक रहेको बताए । उनले गृहमन्त्री लामिछानेले यी प्रकरणको फाइल खोलेर देखाउन चूनौती दिए ।

त्यसैगरी, नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महिला मन्त्रीमाथि अट्याक गरेको भन्दै उनले आपत्ति जनाए । रास्वप सांसद एवं शिक्षा विज्ञान प्रविधिमन्त्री सुमना श्रेष्ठबारे ओलीले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भने, ‘ओलीजी सबैभन्दा ठूलो घटक उहाँ बजेटको विषयलाई लिएर उफ्रिरहनु भएको छ । त्यसमाथि महिला मन्त्रीलाई अट्याक गर्नुहुन्छ ।’

साथै, रास्वपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता अन्तैबाट चलेको छ भनी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । सरकार कहाँबाट चलेको हो ? भन्ने कुरा जनतालाई थाहा दिनुपर्ने उनको माग छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष जो गृहमन्त्री हुनुन्छ, उहाँले सत्ता अन्तैबाट चलेको छ भन्नुभयो । देशभित्रबाट कि देश बाहिरबाट ? उहाँले सत्य बोल्नुपर्यो । देशभित्रबाट हो भने उहाँले कुरा चपाउन भएन, बताउन पर्यो । देश बाहिरबाट भनेको भए कसलाई इङ्कित गरेको ? उहाँले चाइनालाई इङ्कित गर्न खोजेको हो त ?’ प्रश्न गर्दै उनले भने, ‘इन्डिया त अवस्य होईन । आज इन्डियासँग त सरोकार नै छैन । यो कम्युनिष्ट सरकारको । उपप्रधानमन्त्री भन्छन्, सत्ता हाम्रो हातमा छैन । हामी नेपालीले के सम्झिने ? हामी सार्वभौम सत्ताका मालिक भन्थ्यौं । त्यो त देखिएन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot