Logo

बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गर्ने प्रतिस्पर्धा गरिरहेको छः प्रदीप पौडेल



काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले तीन वटा क्षेत्रमा मात्रै बजेट विनियोजन गर्दा संसद्मा भएको हंगामाबाट यो सरकारले पाठ नसिकेको बताए ।

खासगरी मन्त्री र सरकारको कारणले व्यवस्था र संघीयतामाथि सबैभन्दा बढी टीकाटिप्पणी भइरहेको उनको भनाइ छ । उनले सरकार र मन्त्रिमण्डलमा बस्ने पात्रहरुको कारणले सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको दाबी गरे । उनले विगतका घटनाबाट सिकेर करेक्सन गर्ने भन्दा पनि सरकार बेथिति थप्ने प्रक्रियामा अगाडि बढेको बताए ।

‘बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गर्ने प्रतिस्पर्धा गरिरहेको छ । योभन्दा अगाडि जम्मा तीन क्षेत्रमा बजेट गयो भनेर संसद्मा एकदमै धेरै हङ्गामा भएको थियो । त्यसबाट केही सिक्नुपर्नेमा अहिले त्योभन्दा बढी निर्वाचन क्षेत्र केन्द्रीत बजेट हालिएको जस्तो देखिन्छ । यो विनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन,’– उनले भने ।

चालू खर्च घटाउन पर्नेमा यो वर्ष भौतिक पूर्वाधार मन्त्रालयमा यो वर्ष १० अर्ब बजेट बढेको भन्दै उनले आपत्ति जनाए । नेपालले पूर्वाधार विकास आर्थिक विकाससँग कतै पनि नजोडिएको उनको दाबी छ । पुल निर्माणमा एक लाख रुपैयाँ छुट्याइएको भन्दै उनले मन्त्रीलाई एक लाखले पुल बन्छ ? भनेर प्रश्न गरे ।

धेरै रणनीतिक सडकहरुमा पाँच लाख रुपैयाँमात्रै छुट्याइएकोमा उनले आपत्ति जनाए । सुर्खेतदेखि हुम्ल जोड्ने साढे चार सय किलोमिटर भन्दा बढी सडक निर्माणमा जम्मा साढे १९ करोड बजेट विनियोजन गरिएको उनले बताए । उक्त बजेटले त्यस्ता योजनाहरु सम्पन्न नहुने उनको भनाइ छ । उनले बजेट संघीयता विरोधी रहेको दाबी गरे ।

बजेट विनियोजनमा भत्ता, विशेष भत्ता, बैठक भत्ता, अनुगमन भत्ता सबै शीर्षकमा बजेट राखेर फेरि विविध खर्च भनेर पनि राखिएको भन्दै उनले प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot