Logo

कांग्रेसले संसद्मा घुसायो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा



काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले बजेटका सन्दर्भमा जो मन्त्री भयो उहीँ भाले बनिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सबै ठाउँमा समुचित बजेट वितररण नभएकोप्रति आक्रोश व्यक्त गरेका हुन् ।

साथै, उनले वर्तमान संविधान अब यथास्थितिमा चल्न नसक्ने बताए । राजनीतिक स्थायित्वका लागि एक पटक विश्वासको मत पाएको प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था संविधानमा गरिएको भएपनि पछिल्लो पटक १६ महिनामा ३ पटक गठबन्धन परिवर्तन भएको बताए । उनले राष्ट्रिय सुरक्षा नीति, विदेश नीति, भ्रष्टाचार विरोधी नीति, आर्थिक सुधार नीति र संविधान संशोधनलगायतका एजेण्डामा राष्ट्रिय सहमति निर्माण गर्ने कोशिस हुनुपर्ने बताए ।

‘वर्तमान संविधान यथास्थितिमा चल्न सक्दैन । यसमा परिवर्तनको आवश्यत्ता छ । हामीले स्थायित्व र स्थिरताका निम्ति प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था गर्यौं । १६ महिनाभित्र ३ वटा गठबन्धन परिवर्तन भयो । हरेक प्रदेशमा मुख्यमन्त्री तीन चोटी परिवर्तन भएको छ । कोशीमा भन्ने हो भने ६ चोटी परिवर्तन भएको छ । यो अस्थिरता र यो निर्वाचन प्रणालीबाट देश विकास हुन सक्दैन । त्यसकारण निर्वाचित प्रधानमन्त्रीलगायत धेरै कुरामा संविधान संशोधनको आवश्यत्ता छ,’– उनले भने ।

साथै, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा एक्लै निर्णय गर्ने तागत नदेखिएको उनको भनाइ छ । एक्लै निर्णय गर्ने तागत प्रधानमन्त्रीमा नहुँदा सरकार विभिन्न प्रकारको जन्जालमा फसेको टिप्पणी गरे । गिरीबन्धु टी स्टेट प्रकररणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयसमेतको बेवास्ता गर्र्दै सरकार अगाडि बढेको उनको आरोप छ ।

उनले सुनकाण्ड र खर्बौंको एनसेल काण्ड लुकाइएको भन्दै अब सरकारमा रहेकाहरुले फाइल खोल्दिँउ भनेर जनताले नपत्याउने बताए । उनले आफूले कुनै पनि नयाँ शक्तिको विरुद्धमा पूर्वाग्रह नराखेको बताए ।

साथै, योजना आयोग ६८ वर्षदेखि गठन आदेशका आधारमा अगाडि बढिरहेको बताए । उनले योजना आयोगले जनप्रतिनिधिहरुलाई महत्व नै नदिएको भन्दै यसको अर्थ नरहेको बताए । यस पटक पनि बजेटका सन्दर्भमा जनप्रतिनिधिहरुसँग छलफल नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्