Logo

अछाममा मामाघरको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत, छारे रोग भन्दै घटना लुकाउने गाउँलेको प्रयास



काठमाडौं,५ असार । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । सोमबार मध्यराति छाउगोठमा बसेकी१६ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोर ती किशोरीको आफन्त भएको बताईएको छ । उनी किशोरीको नाताले मामा हुन् ।

मंगलबार ती किशोरी बेहोस अवस्थामा फेला परेकी थिइन् । त्यसपछि उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । बेहोस् अवस्थामा अस्पताल पुर्‍याइएकी ती किशोरीले होस खुलेपछि आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएको प्रहरीले जनाएको छ ।

उनको बयानका आधारमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उनी हाल प्रहरीको हिरासतमा छन् ।

पीडित किशोरीको घर पञ्चदेवल विनायक नगरपालिका–६ मा छ।

पञ्चदेवल विनायक–२ मा उनी मामा घरमा बस्दै आएकी थिइन्। आमा बितेपछि उनका बुवा अर्को बिहे गरेर भारतमा बस्दै आएका छन्। मामा–माइजु पनि कामको शिलशिलामा भारतमा छन्। किशोरी र तिनका भाइ मात्रै मामा घरमा बस्दै आएका थिए।

यता किशोरी बलात्कृत हुँदा पनि आफ्न्त र गाउँलेले भने घटना लुकाउने प्रयसा गरेका छन् । किशोरी बेहोस अवस्थामा फेला पर्दा गाउँलेले उनलाई छारे रोग लागेको भन्दै घरेलु उपचार गर्नुपर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिको पहलमा उनलाई अस्पताल लगिएको र हालको उपचार भईरहेको छ ।

यता किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा छाउगोठ मंगलबार नै भत्काइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot