Logo

बजेटप्रति व्यापक असन्तुष्टि छ, मन्त्रीहरुले ७५ प्रतिशत आफैंले लानुभयोः रमेश लेखक (भिडिओसहित)



काठमाडौं, ५ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीको छानविनका लागि बनेको संसदीय विशेष समितिले निष्पक्ष रुपमा छानविन गर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमाथिको छानविन संसदीय विशेष समितिलाई विश्वास गर्नुपर्ने बताएका हुन् ।

‘हामी सचेत छौं, क्रियाशील छौं । जहाँसम्म सहकारी पीडितहरुको कुरा छ, हामीले सहकारी पीडितको हक, हितमा काम गर्नका लागि संसदीय छानविन समिति माग गरेका थियो । संसदीय छानविन समिति गठन भएको छ । एक नम्बर बुँदादेखि चार नम्बरसम्म सहकारी पीडितकै समस्या समाधान गर्न लेखिएको छ ।’ उनले भने, सहकारीको रकम अपचलन गर्ने, ठगी गर्ने, हिनामिना गर्ने, दुरुपयोग गर्ने मानिसहरुमाथि कारबाही हुन्छ, त्यसका बारेमा अनुसन्धान हुन्छ । त्यसका बारेमा समितिले छानविन गर्छ भनिएको छ ।’

संसद्मा बजेटलाई लिएर कुनै पनि सांसद सन्तुष्ट नरहेको उनले बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीले राम्रो गर्न खोज्दैगर्दा पनि मन्त्रीहरुले ७५ प्रतिशत बजेट आफैंले लगेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले राम्रै गर्न खोजेको जस्तो देखेको थिए मैले । अर्थमन्त्रीजीले पनि ठीकठिकै गरौं कि भन्नेजस्तो देखिएको हो । तर, मन्त्रालयहरुमा जुन सिलिङ दियो नि अर्थ मन्त्रालयले, त्यो मन्त्रालयको सिलिङमा त मन्त्रीज्यूहरुले ७५ प्रतिशत जति आफैंले लैजानुभएछ ।’

बजेटलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लाज घिन पचाएको, व्यवस्थामाथि नै वितृष्णा उत्पन्न हुने प्रकृतिको बजेट भनी टिप्पणी गरेको भन्दै उनले यसमा सत्यता रहेको बताए । कांग्रेसले बजेटको विरुद्धमा व्यापक रुपमा आफ्ना भनाइहरु राखिरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot