Logo

माधव र झलनाथलाई जुधाएर अध्यक्ष हुने दाउमा घनश्याम



काठमाडौं,५ असार । ०७८ भाद्रमा एमालेबाट विभाजित बनेर गठन भएको नेकपा एकीकृत समाजवादीले एमालेकै स्वरुपमा आगामी १६ गतेबाट १०औं राष्ट्रिय महाधिवेशन गर्दैछ । असार १६ देखि २० गतेसम्म राजधानीमा चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

एक अध्यक्षसहित २० जनाको पदाधिकारी एकीकृत समाजवादीको सो महाधिवेशनले चयन गर्नेछ । नेकपा एसले अन्तरपार्टी निर्देशन जारी गरी देशभर संगठित सदस्यको संख्या १ लाख ४६ हजार ७१७ रहेको जनाएको छ । तिनै सदस्यबाट १ हजार ७ सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । त्यसमा ३ सय ४६ जना केन्द्रीय कमिटी सदस्य, विभिन्न आयोगका पदाधिकारी र सदस्य गरी ४ सय ५० जना स्वतः प्रतिनिधि चयन हुँदा प्रतिनिधिको संख्या १ हजार ८ सय ७८ जना पुग्नेछ । एसको महाधिवेशनमा महिला ४२५, दलित १५० र खुला १ हजार ३०३ जना प्रतिनिधि हुने पार्टीले जनाएको छ ।

महाधिवेशन आउन करिब एक साता बाँकी रहँदा नेतृत्वका आकाक्षीहरु खुल्न थालेका छन् । हालसम्म हालका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनालसँगै महासचिव घनश्याम भुसालले आकांक्षा राखेका छन् । अध्यक्षका आकांक्षी तीनै जनाले आ आफ्ना तर्क पेश गर्दै कार्यकर्तासँग मत माग्न थालिसकेका छन् ।

छोटो कार्यकाल प्रधानमन्त्री बनेको र केही गर्न मन हुँदापनि गर्न नपाएको कारण एकपटक जसरी भएपनि प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेका नेपाल एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्न कम्तिमा एक वर्ष आफू अध्यक्ष हुनुपर्ने तर्क गरिरहेका छन् भने पार्टी फुट्नेबेलामा आफूले भूमिका देखाउन नसकेको र हाल स्वास्थ्य अवस्था पनि तंग्रिएको भन्दै सम्मानीत नेता खनालले नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएका छन् । जसको नीति उसैको नेतृत्व हुनुपर्ने खनालको अडान छ ।

नेपाल र खनालबीचको लडाईंमा महासचिव भुसालको इन्ट्री भएपछि महाधिवेशन थप रोचक बन्ने भएको छ । महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रस्तावमा हावी भएका भुसालले भने नेपाल र खनाललाईं क्रमश पहिलो र दोस्रो वरियताको नेताको सम्मान दिएर आफू अध्यक्ष हुनुपर्ने बताउँदै आएका छन् । पार्टीमा हालसम्म खनाल र भुसाल एउटै कित्तामा रहँदै आएका छन् । पूर्ववर्ती पार्टीमा रहँदा पनि खनालको साथमा रहेका भुसालले यसपटक भने खनाललाई नै टक्कर दिन खोजेका छन् ।

एकीकृत समाजवादीमा नेपाल र खनाल-भुसालबीच वैचारिक विमति पहिलेदेखि नै रहँदै आएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्नेमा यी दुई समूहबीच विवाद कायमै छ । अध्यक्ष नेपाल एमालेले अपनाउँदै आएको जनताको वहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा छन् । भने खनाल- भुसाल जवजको औचित्य सकिएको दाबी गर्दै नौलो समाजवादमा जानुपर्ने पक्षमा छन् । खनाल तीनै नेता हुन् जसले एमालेमा हुँदा पनि जवजलाई दक्ष-प्रजापतिको टाउकोसँग तुलना गर्ने गर्थे ।

यता कार्यकर्ताले भने माधवसँग एकपटकलाई झलनाथ नै भिडुन् भन्ने चाहना राखेको स्रोतले जनाएको छ । सम्मानीत नेता खनाल अध्यक्षमा उठ्ने र उनको प्यानलबाट महासचिव भुसाललाई नै दोहोर्याउने तयारी गरिरहेका छन् । सम्मानित नेता खनाल महासचिव भुसालले आफूलाई सघाउने आशा गरिरहेका छन् भने भुसालले खनालको समर्थन लिएर अध्यक्ष निर्वाचित हुनेमा विश्वास गरिरहेका छन् । सम्मानित नेता खनाल र महासचिव भुसाललाई मिलाउन नेताहरू जयन्ती राई, घनेन्द्र बस्नेत, विजय पौडेल, गरिमा शाहलगायतका नेताहरू लागिरहेका छन् । अध्यक्ष नेपाल पनि सके भुसाललाई महासचिवमै दोहोर्‍याउने, नसके प्रकाश ज्वाला वा जगन्नाथ खतिवडामध्ये एकलाई महासचिव राखेर अघि बढ्ने रणनीतिमा छन् ।

भुसाल एमाले विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसेका नेता हुन्। ०७९ को आम निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई तत्कालीन ५ दलीय सत्ता गठबन्धनले समथन गरेको थियो । ५ दलीय सत्ता गठबन्धनको समर्थनमा निर्वाचनमा होमिएपनि एमालेका सचिवसमेत रहेका छविलाल विश्वकर्मासँग भारी मतान्तरले पराजित भएपछि एकीकृत समाजवादी छिरेका थिए ।

नेपाल र खनालले आ आफ्नो दाउ गरिरहँदा भुसाल भने सकेसम्म दुवै नेतालाई भिडाएर तेस्रो व्यक्तिको रुपमा आफू सर्वसम्मत अध्यक्ष हुने दाउमा लागेका छन् । त्यसका लागि उनले आफूनिकटका नेताहरुसँग छलफलसमेत गरिरहेको स्रोतको भनाइ छ ।

एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन हुँदा संघीय संसद्का ३० भन्दा धेरै सांसदले साथ दिएका थिए । तर, हाल प्रतिनिधि सभामा १० सीट रहेको सो पार्टी राष्ट्रिय दल पनि बन्न सकेको छैन । कार्यकताले पार्टी परित्याग गरेर दिनहुँ एमालेमै फर्किनेक्रम बढ्दो छ । हालसम्म पदाधिकारी तहकै नेतादेखि ४ खर्जन केन्द्रीय सदस्य र ३ दर्जन जिल्ला अध्यक्ष एमालेमा फर्किएको एसको तथ्यांकमा उल्लेख छ । एसबाट एमालेमा फर्किएका आधा दर्जन नेता अहिले संघदेखि प्रदेश सभामा सांसदसमेत निर्वाचित भएका छ्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot