Logo

हार्दिक पाण्ड्यालाई पछि पार्दै अलराउन्डर विश्व वरीयतामा दीपेन्द्रको छलाङ



काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौँ नम्बरमा उक्लिएका छन् । उनी तीन स्थानमाथि पुगेका हुन् ।

यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थान पाएका हुन्।

यसपटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन्। नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ। यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन्।

आईसीसीले जारी गरेको नयाँ वरीयताअनुसार अलराउन्डरतर्फ कुशल भुर्तेलले सबैभन्दा ठूलो छलाङ मारेका छन् । पहिलोपटक टप सयभित्र परेका उनी ४३ औं स्थानको सुधार गरी ७० औँ स्थानमा आएका छन् । विश्वकप प्रतियोगितामा उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ४ विकेट लिएका थिए । वरीयतामा यसैको प्रभाव देखिएको हो ।

ब्याटिङतर्फ ओपनर आसिफ शेखले लामो छलाङ हानेका छन् । २० स्थानको सुधार गरी उनी ६९ औँ स्थानमा आइपुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरीको पनि ब्याटिङतर्फ वरीयतामा सुधार भएको छ । उनी पाँच स्थान सुधार गरी ४५ औँ नम्बरमा आएका छन् । कप्तान रोहित भने ६ स्थान खस्किएर ६१ औँ स्थानमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot