Logo

गिज्याइरहेको दुई तस्विरः स्वदेशी भिक्षु कुटिन्छन्, विदेशी गुरु पुजिन्छन्, को हुन नारायणकाजीले ढोगिरहेका व्यक्ति ?



काठमाडौं, ५ असार । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बौद्ध धर्म गुरुलाई पाउमा ढोगिरहेको तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । कम्युनिष्ट सिद्धान्तको बखान गरेर नथाक्ने नारायणकाजी पछिल्लो समय भने ध्यानमा निकै झुकाव राख्छन् । उनले गृहमन्त्री हुँदा कारागारमा रहेका कैदीहरुलाई समेत ध्यान र योगाको फाइदाबारे प्रवचन दिए । कार्यालय समयभित्र विरलै आइपुग्ने सिंहदरबारका कर्मचारीहरुलाई कार्यालय समय अघि नै आएर ध्यान गर्नसमेत उर्दी जारी गरे । तत्कालीन गृहमन्त्री श्रेष्ठको ध्यान र योगाप्रति मोह बढिरहँदा गत चैत २५ गते भद्रकाली परिसरमा बौद्ध भिक्षुलाई प्रहरीले लात्ति हानिरहेको फोटो र भिडिओ पनि उत्तिकै भाइरल भयो ।

त्यस्तै, पछिल्लो समय गेरुवस्त्र लगाएका एक जना बौद्धमार्गी गुरुलाई उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले ढोगिरहेको तस्वीरको खुबै आलोचना भइरहेको छ । उक्त तस्वीर दोलखाको सैलुङ गाउँपालिका–७ मा खिचिएको हो । उपप्रधान एवं परराष्ट्रमन्त्री हिजो (मंगलबार) धर्म गुरुलाई भेट्न उक्त ठाउँमा पुगेका थिए ।

उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ वर्माबाट आएका बौद्ध धर्मगुरु पा औकलाई भेट्न दोलखाको सैलुङ गाउँपालिका–७ मा पुगेका थिए । सो क्रममा उनले धर्मगुरुलाई ढोगेका हुन् । त्यहाँ उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ र धर्मगुरुबीच करिब १ घण्टा कुराकानी भएको बताइएको छ ।

वर्माबाट आएका बौद्ध धर्मगुरु करिब तीन महिनादेखि त्यहाँ रहेको धम्बा दायदा मेरिटेसन सेन्टरमा छन् । उनलाई बौद्धमार्गीहरुले भगवान गौतम बुद्धपछिको पुज्ने गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्