Logo

सिधाकुराविरुद्धको अदालतको अवहेलना मुद्दा वृहत पूर्ण इजलासमा पठाउने आदेश



काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतको संयुक्त इजलासले सिधा कुरा डटकमसँग जोडिएको अदालतको अवहेलना मुद्दा वृहत पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा.कुमार चुडाल र विनोद शर्माको इजलासले उक्त मुद्दाको निरुपण वृहत पूर्ण इजलासबाट हुनुपर्ने निर्णय गरेको हो ।

सिधाकुरा डटकमले प्रशारण गरेको भिडिओ क्लिपलाई लिएर अदालतको अवहेलना मुद्दा चलाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टीङ अप्रेसनको मुद्दाको फैसलासँग बाझिँएको उक्त भिडिओले अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिका प्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएको भन्दै सर्वोच्च अदालत प्रशासनले सो मिडियाका सञ्चालक र सम्पादकलाई विपक्षी बनाइ रिट दायर गरेको थियो ।

‘प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रुपमा सृजित भई सोही विवादस्पद संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधीश, विद्वान कानून व्यवसायी, सञ्चारक्षेत्र एवं सम्मानित व्यक्तित्वहरु उपर लाञ्छना लगाउने मानमर्दन गर्ने कार्य भएको हो वा होइन ? भन्ने महत्त्वपूर्ण सवालको निरुपण हुनुपर्ने देखिन्छ,’– आदेशमा भनिएको छ ।

सोही प्रकृतिको अदालतको अवहेलना मुद्दासमेत वृहत पूर्ण इजलासबाट निरुपण भएको भन्दै सिधाकुरासँग सम्बन्धित मुद्दामा पनि बृहत पूर्ण इजलासमा पठाइएको हो ।



प्रतिक्रिया दिनुहोस्