Logo

नेपाल–भारत सीमानामा काँडेतार लगाउने प्रस्तावप्रति हृदयश त्रिपाठीको आपत्ति, ऐतिहासिक आवश्यत्ता नबुझी अभिव्यक्ति नदिन चेतावनी



काठमाडौं, ६ असार । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल–भारत सीमानामा काँडेतार लगाउनुपर्छ भनी दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । बर्ताैलाले नेपाल–भारतको यथार्थता, ऐतिहासिक आवश्यत्ता र वर्तमानको अर्थतन्त्र नबुझी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको त्रिपाठीको भनाइ छ ।

‘नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा आफ्नो मन्तव्य राख्दाखेरी नेपाल–भारत सीमामा खुल्ला सीमाना नै प्रमुख समस्याको रुपमा देखाउँदै काँडेतार लगाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको छ । त्यसप्रति मेरो र जनता प्रगतिशील पार्टी नेपालको गम्भीर ध्यानाकार्षण भएको छ ।’ उनले भने,‘यसको यथार्थता नबुझी, ऐतिहासिक आवश्यकता र अहिले वर्तमान अर्थतन्त्रको हाम्रो आवश्यत्ता नबुझी उहाँले गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिनुभयो । त्यसको अर्थतन्त्रमा पर्ने प्रभाव सादय उहाँले अर्थतन्त्र त्यति नबुझेको हुनाले मूल्याङ्कन गर्नुभएको छैन होला । यसको म घोर भत्र्सना गर्छु ।’

नेपाल–भारत सीमानाका विषयमा कुनै पनि निर्णय गर्दा मधेशी समुदायको सहमती, परामर्श र रायविना गरियो भने त्यो देशका लागि दुभाग्य हुने उनको भनाइ छ । उनले एमालेजस्तो पार्टीका जिम्मेवार पदाधिकारीले विना अध्ययन हुचुवाको भरमा र गैरजिम्मेवारपूर्ण ढङ्गले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

साथै, काँडेतार लगाएको छिमेकी देश चीनको नाकाबाट टनका टन सुन तस्करी भइरहेको भन्दै उनले ध्यानाकार्षण गराए । उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिकता र यथार्थता नबुझी सीमानामा काँडेतार लगाउने प्रस्ताव राख्नुलाई निरङ्कुशताको निरन्तरताको रुपमा चित्रण गरे ।

‘काँडेतार जोसँग लागेको छ, त्यहाँबाट सुन तस्करी भइरहेको छ । उत्तरतिर काँडेतार छ, टनका टन सुन त्यहीँबाट आउने रहेछ । काँडेतारले तस्करीलाई नछेक्ने रहेछ । हाम्रो दक्षिणतिरको सम्बन्धन भनेको समाजिक, संस्कृतिक सम्बन्ध हो । काँडेतार भइदिएको भए लोकतन्त्र आउँदैन थियो । ज्ञानेन्द्रले लिएपछि लिएको लिएयै गर्थे काँडेतार भइदिएको भए । काँडेतार भइदिएको भए, यहाँ निरङ्कुशताको निरन्तरता हुन्थ्यो । यो अभिव्यक्ति भनेको निरङ्कुशतालाई फाइदा हुने अभिव्यक्ति हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्