Logo

केपी-प्रचण्डले भ्रष्टाचार गरेर जोडेको भन्दा बढी सम्पत्ति मसँग छः दुर्गा प्रसाईँ (भिडिओसहित)



काठमाडौं, ६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूसँग भएका सम्पत्तिहरुका कुनै विवाद नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूसँग रहेको सबै सम्पत्तिमा सम्पत्ति सुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्लिन चिट दिएको बताएका हुन् । उनले आफूसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार गरेर कमाएको भन्दा बढी सम्पत्ति रहेको पनि बताए ।

‘गृहमन्त्रीभन्दा धनी हुँ, उहाँको भन्दा राम्रो सम्पत्ति छ । उहाँहरुले जति भ्रष्टाचार गरेर जोड्नुहुन्छ नि, केपी, प्रचण्डले जति जोडेका छन् नि त्योभन्दा बढी सम्पत्ति मसँग छ । मसँग छ, मेरो सम्पत्तिमा उहिल्यै मलाई क्लिन चिट दिएको छ । सम्पत्ति सुद्धीकरणले पनि र अख्तियारले पनि क्लिन चिट दिएको छ । लोकमानसिंह कार्की हुँदा मैले सफाइ पाएको हो । मलाई केहीको समस्या छैन,’– उनले भने ।

साथै, अनुमति लिएर राखिएको हतियार नियन्त्रणमा लिइएको भन्दै उनले आपत्ति जनाए । राज्यलाई वर्षमा ५० करोड कर तिरेको भन्दै उनले आफूलाई चलाउन सजिलो नरहेको बताए । उनले भने, ‘मेरो हतियार लगेर यता र उत्ता हल्लाउँदै छ । हल्लाउ, मलाई चाहिँदैन । अरुलाई चलाएजस्तो होईन दुर्गा प्रसाईँलाई चलाउन । गृहमन्त्रीको जति अधिकार छ, त्यो भन्दा बढी अधिकार मेरो छ । सालको ५० करोड ट्याक्स तिर्छु यो देशलाई । तपाईँलाई म ठगजस्तो लाग्यो ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्