Logo

रास्वपालाई विश्वप्रकाशको प्रश्नः आवेग र आक्रोशजस्तै नैतिकता छ कि छैन ?



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको डिक्सनेरीमा आवेग र आक्रोशमात्रै रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नयाँ भनिएको दलसँग नैतिकता नरहेको बताए । प्रश्न उठेर संसदीय समिति बनेपछि डा. रामशरण महत, जनार्दन शर्मालगायतले मन्त्रीबाट राजीनामा दिएको स्मरण गराउँदै उनले रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा नदिएकोमा कटाक्ष गरे । उनले रास्वपाको डिक्सनरीमा नैतिकता भन्नै शब्द नरहेको टिप्पणी गरे ।

‘नयाँ दल आएको छ । नयाँ दल आउँदै गर्दा नैतिकताको प्रश्नमा हामीलाई घेरिनुपर्ने, हामीलाई प्रश्न गरिनुपर्ने । संसदीय छानविन समिति बन्यो । कुनै बेला संसदीय छानविन समिति बन्दैगर्दा डा.रामशरण महतले राजीनामा दिनुभयो । संसदीय छानविन समिति बन्दैगर्दा माओवादीका नेता जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभयो । अहिले फरि संसदीय छानविन समिति बनेको छ, तर गृहमन्त्रीले त राजीनामा दिनुभएन ? म राजीनामा माग्न उभिएको छैन । कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुनै निर्णय पनि गरेको छैन । कांग्रेसले माग्दैन पनि । किनकी नयाँ दलको डिक्नरीमा प्रष्ट छ, आवेश छ, आक्रोश छ, केही गरौंला भन्ने उर्जा पनि छ । म प्रशंसा पनि गर्छु, केही गरौंला भन्ने उर्जा पनि छ ।’ उनले भने, ‘तर, आवेग भएजस्तै, आक्रोश भएजस्तै नैतिकता छ कि छैन भनेर हामी सोध्न चाहन्नौं । किनकी जसको घरमा मोही पारेकै छैन, उसको घरमा मोही माग्द गइँदैन । जसको डिक्सनेरीमा नैतिकता छ कि छैन भनेर त्यही पार्टीभित्र प्रश्न उठिरहेको छैन । कांग्रेस अगाडि उभिएर नैतिकताको कारण राजीनामा दिनुस् भनेर भन्दै भन्दैन ।’



प्रतिक्रिया दिनुहोस्