Logo

विश्वकपबारे कप्तान रोहित: बलरले राम्रो प्रदर्शन गरे, पिचको कन्डिसनले ब्याटिङमा समस्या देखियो



काठमाडौं,६ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालको बलिङ उत्कृष्ट हुँदाहुँदै पनि खेल हार्नुपरेको बताएका छन् ।

टी-२० विश्वकप खेलेर बिहीबार नेपाल फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले ब्याटिङ राम्रो गर्न नसक्दा खेल हारेको बताएका छन् । पौडेलले बलरले राम्रो गरेपछि ब्याटिङपीच राम्रो नभएको बताए । ‘हाम्रा बलरले निकै राम्रो प्रदर्शन गरे । ब्याटिङमा केही समस्या देखियो । पिचको अवस्थाले पनि अप्ठ्यारो पा¥यो । तर, विश्व कपजस्तो ठुलो प्रतियोगिताबाट हाम्रा खेलाडी धेरै कुरा सिकेर फर्किएका छन्,’ उनले भने ।

उनले साउथ अफ्रिकासँगको खेल र बंगलादेशविरुद्धको खेलमा ब्याटरले जिम्मेवार भएर खेल्न सकेको भए नतिजा आफ्नो पक्षमा आउने दाबी गरे । यद्यपी यी दुवै खेलमा कप्तान रोहित शून्य रनमै आउट भएका थिए । बंगलादेशविरुद्ध शीर्ष क्रमका ब्याटर छिटो आउट हुनु एक कारण रहेको उनले बताए। ‘ब्याटरले अलिक जिम्मेवारी लिएको भए नतिजा अर्कै हुन सक्थ्यो,’ उनले भने।

अमेरिकामा भएको टी-२० विश्वकप क्रिकेटमा समूह डी मा रहेको नेपालले तीनवटा खेलमा पराजय ब्यहोर्दा श्रीलंकासँगको खेल वर्षात्का कारण अवरुद्ध हुँदा अंक बाँढेको थियो ।

अबको विश्वकपका लागि नेपालले राम्रो टोलीसँग तयारी गर्दा नतिजा आउन सक्ने उनले सुनाए।

‘पछिल्लो समय नेपाली टोलीले सुधार गरिरहेपनि देशबाहिर एक्पोजर पायौँ भने राम्रो गर्न सक्छौँ होला। घरेलु मैदानमा त राम्रो गरिरहेका छौँ, अब क्यानसँग छलफल गरेर बाहिरको मैदानमा एक्पोजरको जरुरी छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्