Logo

माओवादी केन्द्रको कारबाहीमा परेका फणीन्द्रद्वारा सर्वोच्चमा रिट दायर (पूर्णपाठसहित)



काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । संसदीय दलको ह्वीप विपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेश सभाबाट विश्वासको मत दिएको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।

देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी रहेको भन्दै कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् । उनले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको दाबी गरेका छन् । राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४९ ले दिएको सुविधा प्रयोग गरी हसिया हथौडा चुनाव चिन्ह लिएको उनको भनाइ छ । तर, मनोनयन दर्ताका क्रममा र निर्वाचन आयोगको अभिलेखमा समेत आफू नेसपाकै सांसद भनी उल्लेख गरेको उनले दाबी गरेका छन् ।

उनले दल त्याग गरेको भनी दिइएको सूचना, प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको पत्र र सोसँग सम्बन्धित काम कारबाही उत्प्रेषणको आदेशले बदर गरी निर्वाध रुपमा नेसपाको प्रदेश सभा सदस्यको हैसियतले काम गर्न दिनु भनी परमादेशलगायत उपयुक्त आदेशको माग गरेका छन् । उनले रिटको अन्तिम टुङ्गो नलागेसम्म प्रदेश सभा सदस्यको हैसियतले पूर्ववत कामकाज गर्न अवरोध नगर्नु भनी अन्तरिम आदेश समेत मागेका छन् ।

रिटमा उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई प्रत्यार्थी बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्