Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छः मन्त्री अर्याल



काठमाडौँ, ६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताएका छन् । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे पुनःविचार गर्नेबारे काम भइरहेको बताएका हुन् ।

“यो कार्यक्रमबारे पुनः विचार गर्नुपर्छ भनेर काम भइरहेको छ । कम्तीमा यो कार्यक्रमले सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छ,”– उनले भने ।

उनले श्रम स्वीकृतिमा बेथिति देखिएकाले एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए । “वैदेशिक रोजगारीमा जाने सोझा नागरिक आफ्नो सम्पत्ति बेचेर गइरहेका हुन्छन् । उनीहरुलाई बिचौलियाले ठग्ने गरेको छ । ठग्ने प्रवृत्ति अन्त्य गर्न यो निर्णय गर्यौं । ‘फ्रि भिसा फ्रि टिकट’ मा पनि ब्रहमलुट छ । यसको नीतिमा पनि काम गरिरहेका छौँ,” मन्त्री अर्यालले भने ।

उनले आन्तरिक रोजगारी सिर्जना गर्ने काममा मन्त्रालय गम्भीर रहेको बताए । “विदेश जानेलाई रोक्न सकिँदैन तर फर्किएकालाई मात्रै रोक्न सके त्यो ठूलो कुरा हुनेछ । फर्केकालाई व्यवस्थापन गर्न कार्यक्रम ल्याउँदैछौँ,”– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्