Logo

११ देशमा राजदूत सिफारिसका लागि मन्त्रिपरिषद्को बैठक बस्दै, कसलाई कति ? यस्तो छ भागबन्डा



काठमाडौं,७ असार । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठकबस्न लागेको हो । आजको बैठकले विभिन्न ११ देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गर्नेछ ।

बिहीबार साँझ बसेको एमाले, माओवादी र रास्वपाको संयुक्त बैठकले राजदूतको भागबन्डा टुंग्याएको थियो । बिहीबार जुटेको सहमतिअनुसार एमालेले भारत, अमेरिकासहित ८ देशको राजदूत पाएको छ भने रास्वपाले २ र माओवादी केन्द्रले एक देशको राजदूत पाएको । माओवादीको कोटाबाट राजदूत बनेका अन्यलाई फिर्ता नबोलाईएको कारण यसपटक एसले एकजनालाई मात्र पठाउन लागेको हो ।

को को छन् चर्चामा ?

११ राजदूतमध्ये ८ जना पाएको एमालेले पूर्व अर्थमन्त्री डा युवराज खतिवडा, डा अर्जुन कार्की, डा राजन भट्टराई, लोकदर्शन रेग्मी, दावा फुन्टी शेर्पा, निर्मल विश्वकर्मा, उदयराज पाण्डे, शर्मिला पराजुली ढकाल लगायतको नाम चर्चामा छ ।

भारतका लागि विषेशगरि एमालेले कुटनीतिक क्षेत्रका जानकारलाई पठाउन चाहेको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तहकै नेतालाई राजदूत बनाउन चाहेका छन् । त्यसका लागि उनले उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपमहासचिव प्रदीप ज्ञवालीतर्फ नजर लगाएका छन् । तर, आसन्न महाधिवेशनमा पछि परिने र राजनीतिक नियुक्ति कति लामो जान्छ भन्नेबारेमा टुंगो नभएकाले उनीहरुले इच्छा नदेखाएको स्रोतले जनाएको छ । बरु अर्का उपमहासचिव विष्णु रिमाल र नेता विष्णु रिजालले राजदूत खाने इच्छा राखेका छन् । तर ओलीले खासै इन्ट्रेष्ट नदेखाएको स्रोतले जनाएको छ ।

सरकारले गत जेठ २४ गते भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पोर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाएको थियो।



प्रतिक्रिया दिनुहोस्