Logo

माओवादी सांसदको गुनासोः ‘मन्त्रीहरुले बजेट आफ्नै निर्वाचन क्षेत्रमा लानुभयो’



काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुले सबै बजेट आफ्नै निर्वाचन क्षेत्रमा लगेको आरोप लगाएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेता, कार्यकर्तामा मात्रै नभएर जनताले समेत आफूले निर्वाचित गराएर पठाएको सांसद मन्त्री नबनेसम्म निर्वाचन क्षेत्रको विकास हुँदैन भन्ने धारणा बनाउन थालिसकेको बताए ।

सरकारमा गइसकेपछि मन्त्रीहरुले गर्ने यो व्यवहार नयाँ र नौलो नरहेको उनले बताए । अहिले पनि सोही परम्परा दोहोरिएकाले उनले टिप्पणी गरे । ‘अहिले जनताले चुनाव के भन्छन् भने जसरी पनि मन्त्री हुनु भन्छन् । किनकी मन्त्री नभएसम्म हाम्रो ठाउँको विकास हुँदैन भन्ने कुरा जनतासम्म परेको छ । नेता र कार्यकर्तामात्रमा होईन,’– उनले भने ।

विभागीय मन्त्रीले विभागीय कार्यक्रमहरु आफ्नो जिल्लामा केन्द्रीत गर्ने कामलाई स्वभाविक नै बुझ्नुपर्ने अवस्था रहेको उनले बताए । उनले कर्णालीको समय आएपछि विकासले फड्को मार्ने बताए । ‘कर्णालीले कहिले समय पाउँछ ? समयअनुसार नै कर्णालीको विकासबारे सोच्नुपर्ने हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot