Logo

रास्वपाको भूमिका आशलाग्दो छ, ०८४ मा जनताले मूल्याङ्कन गर्छन्ः अमरेश सिंह



काठमाडौं, ७ असार । प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले पुराना दलका सांसदहरुभन्दा संसद्मा रास्वपाका सांसदहरुको उपस्थिति राम्रो रहेको बताएका छन् । आज (शुक्रबार) रास्वपाको स्थापना दिवसका अवसरमा आयोजित चियापान समारोहमा सहभागी हुन पुगेका सिंहले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै रास्वपाका सांसदहरु संसद्मा विषयको गहिराइ र गम्भीरतालाई बुझेर प्रस्तुत भइरहेको बताएका हुन् । रास्वपाले सरकारलाई पनि आफ्ना एजेण्डाहरुमा बाध्य बनाइरहेको उनको भनाइ छ ।

‘पुराना पार्टीको के हुन्छ भने संसद्मा गएर हाजिर गर्ने, जे मनमा लाग्छ त्यही बोल्ने । विषयको गहिराइ र गम्भीरतालाई ध्यान दिँदैनन् । उहाँको सांसदहरुको जुन प्रस्तुति छ, गम्भीरतापूर्वक छ । सरकारलाई पनि बाध्य बनाउँछ,’– उनले भने ।

सांसद सिंहले रास्वपाको उपस्थितिको कारण के कस्ता परिवर्तन हुन्छन् भन्ने कुरा आगामी ०८४ को निर्वाचनमा देखिने बताए । उनले लोकतन्त्रमा मूल्याङ्कनको जिम्मा जनतालाई दिनुपर्ने धारणा राखे । ‘उहाँहरुको उपस्थितिको कारण के कस्तो परिवर्तन हुन्छ, त्यो ०८४ मा थाहा हुन्छ । लोकतन्त्रमा मूल्याङ्कनकर्ता जनता हुन्छन्,’– उनले भने ।

साथै, नेपालमा कम्युनिष्ट नामका पार्टीहरु रहेपनि कोही पनि कम्युनिष्ट सिद्धान्तमा नरहेको उनको टिप्पणी छ । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डमा केही पनि फरक नरहेको बताए । डा. सिंहले कांग्रेस सबैभन्दा राम्रो पार्टी रहेपनि बेथितिको चाङमा रहेको बताए । उनले सभापति देउवाकी श्रीमती आरजू राणा देउवातर्फ लक्षित गर्दै राष्ट्रिय भाउजुका कारण कांग्रेसमा बेथिति बढेको टिप्पणी गरे ।

‘नेपालको पार्टीमध्ये सबैभन्दा राम्रो कांग्रेस हो । बेथिति भयो, चाहे त्यो विभिन्न कारणले भएको होस्, अथवा राष्ट्रिय भाउजुको कारण भएको होस् । लोकतान्त्रिक पार्टी हो, लोकतन्त्रमा योगदान भएको, वीपी कोइरालाले निर्माण गरेको त्यो बेलामा दुनियाँको चेतना बढेको थिएन । त्यो बेलामा स्थापना भएको पार्टी हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot