Logo

रास्वपा र राप्रपा मिल्यौं भने फरक सन्देश दिनसक्छौंः राजेन्द्र लिङ्देन



काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्मा आएपछि अंक गणितमा फरक आएपनि अन्य कुनै परिवर्तन नआएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) रास्वपाको स्थापना दिवसमा सहभागी भएको लिङ्देनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसद्को प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताएका हुन् । उनले ठूला दलका मुख्य नेताहरुले निर्णय गर्ने र संसद्लाई बन्धक बनाउने कार्य जारी नै रहेको बताए ।

‘संसद्को गणितमा फरक होला, तर संसद् पहिले जे थियो, त्यही छ । नियमावलीहरु दुई चार अक्षर तलमाथि होला, त्यही छ । प्रवृत्ति त्यही छ । केही राजनीतिक दल र तिनका पनि मुख्य नेताहरुले निर्णय गर्ने र त्यसको भारी संसद्ले बोक्ने, नयाँ कुरा केही पनि छैन,’– उनले भने ।

सांसदहरुलाई विधायकको भनिएपनि उनीहरु संसद्मा स्वतन्त्र भएर आफ्नो विवेकले काम गर्न नपाएको उनको भनाइ छ । उनले संसद् अहिले पनि केही नेताहरुको बन्धकमा रहेको बताए ।

रास्वपा र राप्रपाबीच सहकार्यका लागि छलफल भइरहेको पनि उनले बताए । आफूहरुले सहकार्य गर्ने सोच बनाएर संगै सरकारमा गएको पनि उनले स्मरण गराए । त्योबेलाको सरकारमा विभिन्न कारणले समीकरण परिवर्तन भएकाले सहयात्रा लामो हुन नसकेको उनले बताए । रास्वपा र राप्रपाले सहकार्य गर्दा जनतालाई फरक सन्देश दिन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

‘हामी छलफलमा पनि छौं । सांसदको निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरका थियौं । त्यसमा सफल हुन सकेनौं । भविष्यमा फेरि त्यस प्रकारको अभ्यास गर्नेछौं । हामी दुई वटा पार्टीले चाह्यौं भने फरक सन्देश दिन सक्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्