Logo

महेन्द्र पुलिस क्लबको हेलचक्र्याइँका कारण रौनकको ज्यान गएको परिवारको आरोप, घटनाको जिम्मा लिई छानविन हुनुपर्ने माग



काठमाडौं, ७ असार । पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका १९ वर्षीय रौनक शाक्यको परिवारले घटनाको जिम्मा नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबले लिनुपर्ने बताएका छन् । गत असार ४ गते नेपाल प्रहरीद्वारा सञ्चालित महेन्द्र पुलिस क्लबको स्वीमीङ पुलमा स्वीमीङ गर्ने क्रममा डुबेर रौनकको मृत्यु भएको थियो ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मृतक रौनकका परिवारले सत्यतथ्य छानविन हुनुपर्ने र महेन्द्र पुलिस क्लबले घटनाको जिम्मा लिनुपर्ने बताएका हुन् । पुलिस क्लबले उक्त घटनालाई सामान्य सोचेर बेवास्ता गरिरहेको पनि उनीहरुको भनाइ छ ।

साथै, उनीहरुले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कानुन बमोजिमको कारबाही हु्नुपर्ने माग गरेका छन् ।

मृतक रौनककी आमा राजेश्वरी शाक्यले महेन्द्र पुलिस क्लबको हेलचक्र्याईँका कारण घटना भएको बताईन् । उनले उचित क्षतिपूर्तिसहित दोषीलाई कारबाही हुनुपर्ने माग गरिन् ।
‘अब मेरो छोरा त मैले फर्काउन सक्दिँन । अब मजस्ता आमाहरुको छोराछोरीहरुको त्यसरी ज्यान नगुमोस्,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot