Logo

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा बस्न नेपाली सेनालाई रक्षामन्त्री उप्रेतीको निर्देशन



काठमाडौं, ७ असार । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विपद् व्यवस्थापनको लागि तयार भएर बस्न नेपाली सेनालाई निर्देशन दिएका छन् । शुक्रबार मन्त्री उप्रेतीले नेपाली सेना अन्तर्गतको उपत्यका पृतना हेडक्वार्टरको वस्तुस्थितिको अवलोकन तथा निरीक्षण गर्दै सो निर्देशन दिएका हुन् ।

हेडक्वार्टरको वस्तुस्थितिको अवलोकन पछि उनले मनसुनजन्य विपद र बाढी पहिरोको जोखिम यस वर्ष अलि ज्यादा हुने भएकाले अनुगमनलाई जोड दिएको बताएका छन् । अनुगमनबाट पत्ता लागेको नेपाली सेनाको अभाव र विपद् व्यवस्थापनका आवश्यकताहरु रक्षा मन्त्रालयबाट जतिसक्दो चाँडो पूर्ती गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

अवलोकनपछि उनले नेपाली सेनालाई सम्बोधन गर्दै नेपाली जनताको एक मात्र विश्वसनिय र भरोसाको केन्द्र नेपाली सैनिक रहेको बताएका छन् । पहाडमा सुत्केरी हुँदा होस् या तराईमा सर्पले डस्दा , हावाहुरी, विमान दुर्घटना लगायतका दुर्घटनामा नेपाली सैनिकलाई नै जनताले याद गर्ने गरेको बताए । सिमित श्रोत साधनका बाबजुत नेपाली सेनाले जनताको विश्वास जीतेको उनले बताएका छन् ।

रक्षा मन्त्रालय विभिन्न गणमा भएको जमिनको अभावका विषयमा फाइल अघि बढाउने समेत प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारीहरु उच्च दक्षताका साथ सम्पन्न गर्नुका साथै नेपाली जनताको सुख दुखको सारथी बन्दै आएको कारण पनि सेना प्रति जनताको उच्च विश्वास र सम्मान रहेको छ । यसलाई पृतना हेडक्वार्टरबाट निरन्तर प्रयत्नशिल रहँदै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्र  र नेपाली जनताको पहिचान स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको गौरवशाली संस्थाको सदस्य भइ राष्ट्र सेवामा खटिन पाउनु आफुमा प्रतिष्ठित र गौरब विषय रहेको उनले बताएका छन् । यसलाई कुनै मुल्य र तलबले तोक्न नसक्ने उनको भनाइ छ ।

विश्वको शान्ति स्थापना युएनमा नेपालले पहिलो हाँसिल गरेकामा उनले खुसी व्यक्त गरेका छन् । महिला सेनाको प्रदर्शनदेखि संख्या र भुमिकाका आधारमा नेपाली सेना पहिलो नम्बरमा रहेको बताउँदै त्यस्तो संस्थाको सदस्य हुन पाउनु गर्वको कुरा रहेको उनले बताएका छन् ।

संस्थानका कर्मचारीहरु वषौँदेखि तलब खान नपाएर क्वाटरमा तलब कुरेर बसिरहेको तर संस्थानहरु खण्डहर हुँदै गएको उनले बताए । ‘यस्तो अवस्थामा नेपाली सेना विश्व मान चित्रमा शान्ति स्थापना गर्न पहिलो नम्बरमा हुनुभन्दा गौरबको कुरा अरु केही हुन सक्दैन,’ मन्त्री उप्रेतीले भने ।

जसको प्रभाव राम्रो हुन्छ उसमा आक्रमण पनि हुने बताउँदै मनोबल नगुमाई उच्च मनोबलका साथ अघि बढे भविष्य सुखद् हुने मन्त्री उप्रेतीले बताएका छन् । नेपाली सेनाले देशलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भुमिका खेल्न सकेमा नेपाली सेनाले अर्को इतिहास लेख्ने उनले बताएका छन् । मन्त्री उप्रेतीले भने, ‘यो आर्थिक स्थितिलाई उठाउन महत्वपूर्ण भुमिका खेल्यो भन्ने कुरा इतिहासमा लेख्यो भने त्यो भन्दा महत्वपूर्ण कुरा अरु हुँदैन । दुई आवधिक निर्वाचनमा बन्न सक्ने मुलुक हो । एक दुई वर्षमा यहाँहरुको भुमिकाले संस्थान उठ्न सक्छ । गौरबमय संस्थाको रुपमा आफ्नो भुमिका देखाएर नेपाली जनतालाई विकसित देशको जनता बराबरको शिर उठाउने स्थिति बनाउन सक्यौँ भने अझैपनि नेपाली सेनाको इतिहास सुनौलो हुनेछ ।’

यस कामको सुरुवात पृतना हेडक्वार्टरबाट सुरुवात हुँदा अझै धेरै राम्रो हुने उनले सुनाए । उनले भने, ‘सदनमा केहि तत्वहरुले बोलेको कुराको राम्रोसँग जवाफ दिनेछु तपाईहरुको शिर निहुरिन दिने छैन । यहाँहरुको मनोबल गुमाउन दिने छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot