Logo

बजेटमा अर्थमन्त्रीले ‘आफ्नो हात वर्षमाननाथ’ गर्नुभयोः सूर्य थापा (भिडिओसहित)



काठमाडौं, ८ असार । नेकपा (एमाले) का नेता एवं संसदीय विशेष समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले सहकारी ठगी प्रकरणको छानविन निष्पक्ष ढंगले हुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समितिले अनुसन्धानका क्रममा गोर्खा मिडियाका तत्कालीन र वर्तमान पदाधिकारीसँग सोधपुछ गर्नसक्ने बताए ।

नेता थापाले अहिले प्रधानमन्त्री, गृहमन्त्री भनेर कसैमाथि पूर्वाग्रही भएर भाषा प्रयोग नभएको बताए । उनले भने, ‘गोर्खा मिडिया नेटवर्क प्रा.लि. का तत्कालीन र वर्तमान पदाधिकारीसँग पनि हामीले सोधपुछ गर्न सक्नेछौं । तथ्य प्राप्तिका लागि हामीले त्यो प्रक्रिया अपनाउन सक्नेछौं भनेका छौं । ती को–को हुनेछन् भन्ने कुरा हामीले सोधपुछको क्रममै बताउने छौं । अहिले हामीले नियोजित रुपमा प्रधानमन्त्रीसँग, गृहमन्त्रीसँग भन्ने भाषा प्रयोग गरेका छैनौं,’– उनले भने ।

नेता थापाले पार्टीकै मन्त्रीहरुले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै आपत्ति जनाए । उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला तथा बालबालिकामन्त्री भगवती चौधरीलगायतका मन्त्रीहरु बजेट विनियोजनमा पूर्वाग्रही बनेको बताए ।

आफूले अर्थमन्त्री वर्षमान पुनलाई पाँच पटकसम्म भेटेर छलफल गरेको स्मरण गराउँदै उनले भालुवाङ–प्यूठान सडकलाई यस पटक बजेट नथपिएको बताए । उनले बजेटमा ‘आफ्नो हात वर्षमान नाथ’ भएको टिप्पणी गरे ।

‘अर्थमन्त्री मेरो छिमेकी जिल्ला रोल्पाको हुनुहुन्छ । उहाँसँग मैले पाँच पटक विभिन्न हिसाबले भेटेर छलफल गरेँ । उहाँले आफैं पनि यो बाटोको निम्ति म सकारात्मक छु भन्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयबाट यो शीर्षक आयो भने म बजेटको व्यवस्था गर्छु भन्नुभयो । गत वर्षदेखि मैले एकदम संघर्ष गरेर थालनी गरेको भालुवाङ–प्यूठान मोटर बाटो डबल लेन गर्ने भनेर गतवर्षदेखि एक करोड बजेट त्यो शीर्षकमा छ । अहिले पनि उहाँसिँगको सल्लाहअनुसार मैले भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीसँग छलफल गरेर त्यो शीर्षक मैले उपलब्ध गराएको हो । तर, उहाँले एक सुका पनि थप्नु भएन । उहाँले १० अर्बभन्दा बढी बजेट रोल्पाका लागि छुट्याउनु भएको छ । यो त आफ्नो हात वर्षमाननाथ भयो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot