Logo

रेशमको मागः ‘मलाईजस्तो मुद्दा लागेको एमाले-माओवादीका नेताहरुले राजनीति गर्न पाउनुभएन’



काठमाडौं, ८ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूजस्तै राजनीतिक मुद्दा लागेको एमाले–माओवादीका कुनै नेताहरुले राजनीति गर्न पाउन नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उही प्रकारको मुद्दा लागेकाहरुलाई विभेद गर्न नहुने बताएका हुन् । आफूलाई निर्वाचन आयोगले नाउपाको अध्यक्ष स्वीकार नगरेका तर्फलक्षित गर्दै उनले उही प्रकृतिको मुद्दा लागेको एमाले–माओवादीका नेताहरुले राजनीति गर्न पाउने र आफूले नपाउने हुँदा अन्याय हुने बताएका हुन् ।

‘सम्मानित न्यायलयले मेरो मुद्दाको फैसलामा कही पनि नैतिक पतन भनेर लेखेको छैन । कि मजस्तो राजनीतिक मुद्दा लागेको मान्छे कसैले पनि राजनीति गर्न पाउनुभएन । अहिलेको एमाले, माओवादी सबैका नेताहरुले पाउनु भएन । सबैलाई यही मुद्दा लागेको हो । अब एउटा थारुलाई राजनीतिक गर्न दिँदैनन् भन्ने मेरो भन्नु केही छैन,’– उनले भने ।

साथै, जनयुद्धको नेतृत्व गरेको प्रचण्ड र विप्लवलाई स्वीकार गर्ने निर्वाचन आयोगले आफूलाई स्वीकार गर्न नसकेको भन्दै उनले आपत्ति जनाए । आयोगको निर्णयविरुद्ध कानुनी लडाईँ जारी रहेको स्मरण गराउँदै उनले न्याय पाउनेमा विश्वस्त रहेको बताए । सिरहा क्षेत्र नं १ बाट निर्वाचित एमालेका नेता रामकेवल यादव पनि त्यस्तै प्रकृतिको मुद्दामा जेल बसेर अहिले सांसद बनिरहेको उनले बताए । उनले आफूविरुद्ध दायर भएको मुद्दाको मिसिलमै टीकापुर घटनास्थलमा नभएको कुरा प्रष्ट उल्लेख गरेको समेत दाबी गरे ।

‘हिजो जनयुद्ध कालमा प्रचण्डजी अध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई स्वीकार्यो होईन राज्यले ? विप्लवजीलाई स्वीकार गरिरहेको छ हैन ? एउटालाई एउटा व्यवहार अर्कोलाई फरक व्यवहार गर्नुहुन्न । हामीसँगै नौ वर्ष जेल बस्नुभएको सिरहाको क्षेत्र नं.१ बाट निर्वाचित हुनुभएको यादवजी अहिले संसद्मा हुनुहुन्छ,’– उनले भने ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई स्वीकार गर्न नसकिने भन्ने निर्वाचन आयोगको निर्णय गलत रहेको उनले दाबी गरे । उनले भने, ‘निर्वाचन आयोगले गरेको निर्णय गलत छ । त्यो गलत निर्णयको विरुद्धमा न्याय पाउँ भनेर म न्यायलय गएको हो ।’



प्रतिक्रिया दिनुहोस्