Logo

बजेटका कारण सत्ता साझेदार दलबीच कुनै समस्या हुँदैनः मन्त्री शर्मा



काठमाडौं, ८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन् । प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताईन् । ‘जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ,’– मन्त्री शर्माले भनिन् ।

उनले बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताईन् । उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट पारिन् । विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा (माओवादी केन्द्र) सोच रहेको बताईन् ।

मनसुन प्रारम्भ भएसँगै दैवी विपत्तिको जोखिम बढ्ने सन्दर्भमा विपद् व्यवस्थापनमा सरकारको तयारीबारेको बारेमा बोल्दै उनले भनिन्, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमन्त्रालयलगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ ।’

सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौं भित्र्याउन सकिने बताईन् । ‘१६औँ योजना र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रुपान्तरण गर्नेगरी काम गरिरहेका छौँ,’–उनले भनिन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्