Logo

नियमावली र करारनामाविपरीत सुविधा रकममा १५ प्रतिशत कर कट्टा गर्न खोजेको भन्दै स्वास्थ्य विमा दर्ता सहयोगीहरु आन्दोलित



काठमाडौं, ८ असार । सरकारले नियमावली र करारनामा विपरीत सुविधा रकममा १५ प्रतिशत कर लागाउन खोजेको भन्दै स्वाथ्य विमा दर्ता सहयोगीहरु आन्दोलित भएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुले विगत ११ महिनादेखि पाउनुपर्ने सुविधा रकम नपाएको र त्यसमा पनि १५ प्रतिशत कर कट्टा गरेर पठाउने तयारी भएपछि आन्दोलित हुनुपरेको बताएका हुन् ।

स्वाथ्य विमा दर्ता सहयोगीहरुले संघर्ष समिति बनाएर नै चरणबद्ध आन्दोलन थालेका छन् । संघर्ष समितिकी संयोजक गंगा सुवेदीले विमाकर्ताले योगदान वापत बुझाउने तीन हजार पाँच सयको १० प्रतिशत रकम बाहेक आफूहरुलाई अरु कुनै सुविधा नरहेको बताईन् । आफूहरुले पाउने सुविधा रकममा विगतका वर्षहरुमा १ प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गर्ने गरिएको भएपनि यस पटक भने १५ प्रतिशत कर कट्टा गर्ने तयारी रहेको जानकारी प्राप्त भएको बताईन् ।

‘महालेखाले बेरुजु देखाएको भनेर १५ प्रतिशत कर कट्टा गर्ने भनी हामीलाई परिपत्र भएको छ । नियमावली र करारनामामा पनि १५ प्रतिशत कर कट्टा गर्ने बारे उल्लेख छैन । यसरी नियमावली र करारनामामा उल्लेख नभएको अवस्थामा कानुन विपरीत कर कट्टा गर्न पाइँदैन,’– उनले भनिन् ।
संघर्ष समितिले हिजो स्वाथ्य विमा बोर्डमा ज्ञापन पत्र बुझाएर सात दिनभित्र माग सम्बोधन गर्न भनेको उनले बताईन् । माग सम्बोधन नभए त्यसपछि सशक्त रुपमा आन्दोलनमा होमिने संघर्ष समितिको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्