Logo

नेता तथा कार्यकर्तालाई प्रचण्डको ढाडसः ‘थोरै छ भनेर चिन्ता गर्नुपर्दैन, हाम्रो जादुवाला नम्बर छ’



काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई सरकारबाट हटाउन सजिलो नरहेको बताएका छन् । आज (शनिबार) तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले इतिहास, मुद्दा र आन्दोलनका कारणले माओवादीलाई सत्ताबाट हटाउन सजिलो नरहेको बताए ।

आफू सरकारमा आएदेखि नै विभिन्न अफवाह फैलाएर सरकार ढाल्न सकिन्छ कि भन्ने प्रयन्त भएपनि त्यो पूरा नभएको बताए । आफैंलाई समेत लामो जाँदैन भन्ने लागेको अवस्थामा डेढ वर्षको अवधि सरकार अगाडि गएको भन्दै उनले अब तरिका मिलेको खण्डमा पूरै अवधि सञ्चालन गर्ने पनि उनले बताए । माओवादीको नम्बर नै जादुवाला रहेको दाबी गर्दै उनले जादुले अनेक गरेर मिलाउने बताए ।

‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन् । अर्कोले कुरा गर्दैछ, केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको बेलादेखि नै हो । मैले नै भन्थे कि सायद मलाई सबै मिलेर प्रधानमन्त्रीमा धेरै दिन बस्न दिन्नन होला, मैले पनि जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका पनि गतिविधि गरेर, जतिदिन बसिन्छ सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु ।’ उनले भने, ‘मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot