Logo

कांग्रेस नेता पौडेलको आरोप, ‘यो सरकार भ्रष्टाचारको प्रमाण लुकाउन बनेको हो’ ((भिडिओसहित)



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले वर्तमान सरकार भ्रष्टाचारको प्रमाण लुकाउनका निमित्त बनेको आरोप लगाएका छन् । आज (शनिबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका मन्त्री र उपप्रधानमन्त्री भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएका बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टी स्टेट घटला प्रकरणमा र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा मुछिएको बताए ।

‘गठबन्धनभित्र कुनै पनि दलसँग जोडिएको कुनै पनि मुद्दाहरु मान्नुस् यो सरकारले कुनै पनि खोल्दैन । बरु त्यसलाई थन्क्याएर ताला लगाउँछ । सकेसम्म त्यसको प्रमाणहरु लुकाउँछ । किनकी यो सरकार भ्रष्टाचारसँग जोडिएको प्रमाणहरु लुकाउनका निम्ति बनेको हो । पूर्व प्रधानमन्त्रीज्यू गिरीबन्धु टी स्टेटमा जोडिनुभएको छ । वर्तमान उपप्रधानमन्त्रीज्यू सहकारीको अपचलनमा जोडिनुभएको छ । अरु थुप्रै मन्त्रीहरु विभिन्न काण्डहरुमा जोडिएका छन्,’– उनले भने ।

आफ्नो मन्त्रिमण्डलमा काण्डैकाण्डले घेरिएका मन्त्रीहरु रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सबै चोखा छन् भनेर अभिव्यक्ति दिइरहेको उनले बताए । उनले प्रधानमन्त्रीले सबैलाई सफाइ दिएर सरकार चलाइरहेको उनको भनाइ छ । उनले कांग्रेसका कुनै नेता भ्रष्टाचारमा मुछिएको पाइएमा कारबाही गर्नुपर्ने बताए । पार्टीको इमेजमा दाग लाग्ने गतिविधि कसैले गरेका छानविन गरि दण्डित गरिनुपर्ने उनको भनाइ छ । ‘भ्रष्टाचारमा जोडिएको कुनै व्यक्ति पार्टीको हुँदैन । हाम्रो पार्टीमा कोही त्यस्तो छ भने छानविन गरेर दण्डित गर्नुपर्छ । पात्रका कारणले पार्टीको पहिचानमा दाग लाग्छ भने हामीले समयमै ख्याल गर्न सक्नुपर्छ । नेपाली कांग्रेसले सुशासनको पक्षमा वकालत गर्नुपर्छ,’– उनले भने । फोटो /भिडिओः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot