Logo

सत्ता समीकरणमा कुनै समस्या छैन, हुँदैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ८ असार । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताएका हुन् ।

“आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन,”– उनले भने ।

प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए । “विभिन्न जाति, जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका विषय हाम्रा हुन् । उत्पीडित वर्गले जति अधिकार पाएका छन्, त्यो माओवादीका कारण प्राप्त भएको हो,”– उनले भने ।

प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आमनेपाली मुक्तिकामी जनताको सङ्घर्ष भएको बताए । “जनयुद्ध जनताको युद्ध थियो । लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो । आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ । यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्छौं,”– उनले भने ।

प्रधानमन्त्रीले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने बताउँदै पार्टीका सबै नेताकार्यकर्ताले फुर्सद नपाउनेगरी अभियान सञ्चालन गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot