काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सत्तारुढ दलभित्र रहेको अन्तरविरोधकै कारण ढल्ने बताएका छन् । नेपाल मुस्लिम संघ, मोरङले विराटनगरमा आयोजना गरेको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफैं ढल्ने सरकारलाई ढाल्नतिर कांग्रस लाग्न नहुने बताएका हुन् ।
‘कांग्रेस सरकार गिराउने पक्षमा छैन भन्ने कुरा तपाईँहरु स्पष्ट हुनुस् । हामीले गिराउनुपर्दैन, त्यो पाकेको फल आफैं गिर्छ नि । हामीले किन गिराउने ? आफैं गिर्छ सक्किगो नि,’– उनले भने ।
उनले अहिले राजनीतिमा अपराधीकरण भइरहेको बताए । राजनीतिज्ञ, व्यापारी र व्यूरोक्रेट्सहरु अहिले एक ठाउँमा उभिएको उनको टिप्पणी छ । राजनीतिज्ञ, व्यापारी र व्यूरोक्रेट्सहरु एक ठाउँमा उभिँदा ऐन, नियम, कानुनहरुले काम नगर्ने उनको भनाइ छ ।