Logo

उपेन्द्र नेतृत्वको जसपा नेपालद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं,९ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभामा एक्ली सांसद रहेका अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराईन ।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका दुई जना भने सरकारलाई समर्थन गरेका छन् । उनीहरु दुवै राई समूहमा छन् । संसदीय दलका नेता भण्डारीलाल अहिले कृषि मन्त्री रहेका छन् ।

पार्टीका सांसद अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषि मन्त्री छन् । यद्यपि उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ । जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा पर्दैन । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।

एमालेको समर्थनान माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एक सांसदले फिर्ता लिएपनि बहुमत कायम रहेको छ । एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन अझै कायम छ ।



प्रतिक्रिया दिनुहोस्