Logo

मुख्यसचिव अर्यालसहित १२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर (सूचीसहित)



काठमाडौं,९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।

तत्कालीन सञ्चारसचिव रहेको बेला अर्यालले सो स्टिकर छपाइसम्बन्धी ठेक्का लगाउने निर्णय गरेका थिए । 

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार सचिव थिए ।

९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव (हाल मुख्यसचिव) अर्याललगायत संलग्नता पुष्टि भएको जिकिर अख्तियारको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्