Logo

सहकारी पीडितहरुको मुद्दामा कांग्रेसको नियत चोखो देखिएनः कमल थापा (भिडिओसहित)



काठमाडौं, १० असार । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले सहकारी पीडितको मुद्दामा नेपाली कांग्रेसको नियत चोखो नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी प्रकरणलाई कांग्रेसले सत्ता स्वार्थ र राजनीतिमा जोडेको आरोप लगाएका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अफर गरेको प्रधानमन्त्री पद अस्वीकार गरेपछि अहिलेको परिस्थिति सिर्जना भएको उनको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्रीका लागि अफर गरिएको होईन भनेर खण्डन गर्न नसकेको उनको भनाइ छ ।

‘कांग्रेसले सहकारी पीडितहरुको पक्षमा आवाज उठाएको भनिराखिएको छ । यसमा म कता–कता राजनीतिक र सत्ता स्वार्थ गाँसिएको हो कि भन्ने मलाई लाग्छ । त्यसमा उनीहरुको नियत चोखो छ भन्ने नै विश्वास गर्न सक्ने ठाउँ भएन । किनभने अब उहाँहरुले रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको सार्वजनिक रुपमै आएको छ । संसद्मा पनि यो बारे चर्चा भएको छ । रवि लामिछानेले प्रधानमन्त्री पद अस्वीकार गरेपछि सहकारीको विषयलाई लिएर उहाँमाथि आरोप लगाइएको छ,’– उनले भने ।

सहकारी ठगी प्रकरण छानविनका लागि समिति बनेकाले र अब आरोप प्रत्यारोप लगाउनुभन्दा पनि समितिलाई काम गर्न दिनुपर्ने उनले बताए । सहकारी ठगी प्रकरण अब समितिको निश्कर्ष नै अन्तिम हुने उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले पनि समितिलाई सहयोग गरेर आफ्नो चोखोपनलाई प्रमाणित गर्नुपर्ने बताए ।

अहिले सहकारीबाट घर–घर र परिवार–परिवार पीडित रहेको उनले बताए । यस्तो अवस्थामा पनि पीडितको पक्षमा सरकारले गम्भीरतापूर्वक सोच्न नसकेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot