Logo

बजेटबारे माओवादी सांसदको टिप्पणीः ‘मन्त्रीहरुले दिने र सांसदहरुले माग्नेजस्तो भूमिका देखियो’ (भिडिओसहित)



काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले अहिले मन्त्रीहरु बजेट दिने र सांसदहरु माग्नेको भूमिकामा देखिएको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बजेटमा कसैले माग्ने र अर्काले दिनेजस्तो भूमिका देखिनु गलत रहेको बताए । उनले बजेट विनियोजन र विकास निर्माणका कार्यहरुमा प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिएर प्रतिनिधि सभा र राष्ट्रिय सभा विधायिकी भूमिकामा मात्रै हुनु आवश्यक रहेको बताए ।

‘कार्यकारी भूमिकामा रहेकाहरुले खटनपटन गर्ने, दिने अनि हामी विधायिकी भूमिकामा भएकाहरुले माग्ने, कसैले दिने र कसैले माग्नेजस्तो बनाइएको छ । सिद्धान्ततः यो गलत छ । सांसदहरु भनेको उसको मुख्य काम विधायिकाको भूमिका हो । तर, चुनाव लड्न जाँदा जनताले जे–जे डिमाण्ड गर्छन् या माग राख्छन् ती मागहरु पुरा गर्छौं भनेर आएको हुन्छ ।’ उनले भने, ‘यहाँनिर हाम्रो के कमजोरी छ भने हामी संघीय व्यवस्थामा गएका छौं । प्रतिनिधि सभाले नै विकास निर्माणका कामहरु सम्पादन गर्ने होईन । हामीले रिसोर्सहरु कसरी जेनेरेट गर्ने, देशमा कसरी बढीभन्दा बढी राजश्व संकलन गरेर ढुकुटीलाई बलियो बनाउने भन्ने कोणबाट ज्याद चिन्तन मनन गर्नुपर्छ ।’

साथै, राजनीतिक नियुक्तिका बारेमा आलोचना हुन थालेको पनि उनले सुनाए । उनले राजनीतिक नियुक्तिका बारेमा अब नयाँ ढंगले बहस सुरु गर्न आवश्यक रहेको पनि बताए । उनले राजनीतिक नियुक्तिमा परेका पात्रहरुको कतिपय अवस्थामा इमेज नै ड्यामेज पार्ने गरी आलोचना भइरहेको पनि बताए । राजनीतिक नेतृत्वले नियुक्तिका क्रममा विधि र प्रक्रिया अवलम्बन गर्न आवश्यक रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot