Logo

गण्डकीका पदमुक्त सांसद फणीन्द्रको रिटमा सुनुवाइ जारी



काठमाडौं,१० असार । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर पद गुमाएपछि सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ जारी छ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेशी तोकिएको छ । आइतबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो । आज सोही अवस्थाबाट सुनुवाइ भईरहेको छ ।

ह्विप उल्लंघन गर्दै कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको थियो। नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चिह्न लिएर गोरखा २ ९१० बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

माओवादीको चिह्न लिएर चुनाव लडे पनि निर्वाचन आयोगमा पेस गरेका आफ्ना सबै आधिकारिक दस्ताबेजमा नेपाल समाजवादी पार्टीलाई प्रतिनिधित्व गर्ने उल्लेख गरेको दाबी गर्दै देवकोटाले प्रदेश सभाको सबै कामकारबाही रद्द गर्न माग गर्दै रिट दायर गरेका हुन्।

रिटमा प्रदेश सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सभा सचिवालय, माओवादी गण्डकी प्रदेश संसदीय दल, माओवादी केन्द्र गण्डकी प्रदेश समिति, माओवादी केन्द्र केन्द्रीय कार्यालय र निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

देवकोटाले जेठ ३२ गते बसेको प्रदेश सभाको छैटौँ अधिवेशनको १२औं बैठकका सबै कामकारबाही बदर गरी आफूलाई प्रदेश सभा सदस्यको हैसियतले काम गर्न दिने गरी परमादेशको आदेश माग गरेका छन्।

‘मूल कानुन संविधानले गरेको प्रस्ट व्यवस्थाविपरीत अधिकारविहीन दलद्वारा अवैध र क्षेत्राधिकारविहीन आदेशद्वारा अर्को दलको प्रदेश सभा सदस्यलाइ निष्कासन गर्ने अख्तियारी राख्न सक्ने अवस्था रहँदैन,’ रिटमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot