Logo

भ्रष्टाचारमा डामिएका बैकुण्ठका लागि नयाँ पद सिर्जना किन गरियो ? मन्त्री शर्मा भन्छिन्: मुद्दा लाग्दैमा दोषी भन्ने हुँदैन



काठमाडौं,१० असार । सरकारले भ्रष्टाचारको मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई विशेष पदको दरबन्दी सिर्जना गरेर राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने जानकारी गराइन् ।

नेपालको इतिहासमा पहिलो पटक मुख्यसचिवलाई पदमा बहाल रहँदाकै अवस्थामा भ्रष्टाचारको मुद्दा लागेको । यता सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भने मुद्दा दायर हुँदैमा कोही पनि दोषी नहुने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले अर्यालले अदालतबाट सफाइ पाएमा पुन पदमा फर्किन सक्नेगरि हाललाई जगेडामा राखिएको बताईन् । यसअघि पनि सरकारले गत वर्ष बैकुण्ठलाई मुख्यसचिव बनाउन कै लागि तत्कालीन मुख्यसचिव शंकरदाश बैरागी खनाललाई राजीनामा गराएर हुँदै नभएको राष्ट्रिय सुरक्षा परिष्द्को सल्लाहकार पद सिर्जना गरेर मन्त्रीस्तरीय सुविधा दिएको थियो ।

‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन,’ उनले भनिन्, ‘मुद्दा अवधिभर उहाँ (मुख्यसचिव बैकुण्ठ अर्याल) को पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ। अर्कोतिर पद रिक्त भएको छैन। त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो। उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सकिएपछि विशेष पद स्वतः हट्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot