Logo

माधव-झलनाथले अब ‘ग्रेसफुल एक्जिट’ रोज्नुपर्छः रामकुमारी झाँक्री (भिडिओसहित)



काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अब ‘ग्रेसफुल एक्जिट’ रोज्नुपर्ने बताएकी छन् । वापर र पोलिटिक्समा रहेका मानिसहरुको इतिहासमा दुःखद् अवसान भएको उद्धाहरणहरु रहेको भन्दै पार्टीको आगामी महाधिवेशन ‘ग्रेसफुल एक्जिट’ का लागि माधव र झलनाथका लागि उपयुक्त अवसर हुनसक्ने बताईन् । पार्टीमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठिरहेको बताउँदै उनले ०३९ सालमा तत्कालीन मालेको महासचिव भएका झलनाथ र २०५० देखि ०६५ सम्म एमालेको महाचिव भएका माधव नेपालले अब युवा पुस्ताका लागि सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।

‘पार्टीमा आज यतिधेरै रुपान्तरण र पुस्तान्तरणको प्रश्नहरु उठिरहेका छन् । आन्तरिक लोकतन्त्रका कुराहरु उठिरहेका छन् । त्यसो हो भने हाम्रो नेतृत्व पुरानो हो । ०३९ सालमा तत्कालीन मालेको महासचिव हुनुहुन्थ्यो कमरेड झलनाथ खनाल । २०५० देखि ०६५ सम्म कमरेड माधवकुमार नेपाल हुनुहुन्थ्यो नेकपा (एमाले) को महासचिव । उहाँहरुको पालामा आन्दोलनलाई, पार्टीलाई निर्माण गर्ने सन्दर्भमा धेरै ठूलो योगदान छ ।’ उनले भनिन्, ‘इतिहासमा, राजनीतिमा ‘ग्रेसफुल एक्जिट’ को अवसर सबैलाई आउँदैन । पावर, पोलिटिक्समा रहने मान्छेहरुको दुःखद् अवसान भएका थुप्रै उद्धाहरणहरु छन् । त्यसकारण अब नेताहरुले ‘ग्रेसफुल एक्जिट’ खोज्नुपर्छ । यो महाधिवेशन ग्रेसफुल एक्जिटको अवसर हो । उहाँहरुले सहजीकरण गरिदिनुभयो भने हामीले अरु काम गर्न सक्छौं ।’

साथै, महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नु उपयुक्त हुने उनको भनाइ छ । उनले सर्वसम्मत नेतृत्व चयनका लागि आफूले सबै नेताहरुलाई अनुरोध गरिसकेको पनि बताईन् । उनले अब पार्टीको नेतृत्वमा पुस्तान्तरणको खाँचो रहेको बताईन् ।

‘हामीले नेकपा (एमाले) बाट विभाजन भएर आयौं । जेजसरी आयौं, जे–जस्तो परिस्थिति सिर्जना भयो, यो नेतृत्व यहाँसम्म आएको छ । हामीले अब नयाँ राजनीतिक परिस्थिति निर्माण गर्नका निमित्त सर्वसम्मतको नेतृत्व गरौं, अगाडि जाउँ । सबै साथीहरुलाई समेटौं भन्ने अवस्था आउन सक्छ । त्यो अवस्थाका लागि मैले सबै नेताहरुलाई भनेको छु,’– उनले भनिन् ।

एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot