Logo

सरकारले जिल्ला भ्रमणमा जाँदा आफूलाई उपेक्षा गरिएको भन्दै कांग्रेस सांसद खड्काको आपत्ति



काठमाडौं,१० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दीपक खड्काले संसद् सचिवालयमा कार्यरत कर्मचारीको जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार बसेको संसद्को शून्य समयमा बोल्दै पूर्व राज्यमन्त्रीसमेत रहेका खड्काले जायज माग पूरा गरेर सदनमा देखएिको गतिरोध अन्त्य गर्न सरकारसँग आग्रह गरे । फरक प्रसंगमा खड्काले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला संखुवासभाको भ्रमणमा जाँदा सरकारले आफूलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाए ।

‘म संखुवासभाबाट प्रतिनिधित्व गर्छु । त्यहाँबाट संघमा प्रतिनिधित्व गर्ने एकल सांसद हुँ । तर, यसबीचमा प्रधानमन्त्री र दुई जना उपप्रधानमन्त्रीले त्योे जिल्ला भ्रमण गर्नुभयो । तर, मलाई उपेक्षा गरियो । यहाँ म दीपक खड्कालाई उपेक्षा गरिएको होइन् । संखुवासभाको जनप्रतिनिधिलाई उपेक्षा गरिएको हो । यो संसदको उपेक्षा हो’ उनले भने ।

सांसद खड्काले विनियोजित बजेटले सांसदलाई उपेक्षामा राखेको दाबी गरे । उनले निष्पक्षरुपमा मतदान भए बजेट फेल हुने जिकिर गरे । ‘अहिले बजेट आएको छ । सांसदहरुलाई उपेक्षा गरिएको छ । निष्पक्षढंगले सांसदहरुले भोट हाल्ने हो भने मलाई पूरा विश्वास छ । ८० प्रतिशत सांसदले विपक्षमा मतदान गर्छन् । भोट नहाल्दा सरकार ढल्ने हुँदामात्र सांसदले भोटहाल्न खोजेका हुन्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot