Logo

प्रधानमन्त्रीलाई पनि अटेर गरेर बसेका निलम्बित मुख्यसचिव अन्ततः योजना आयोगमा खेदिए



काठमाडौं, १० असार । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपालको इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुख्यसचिव विरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर सरकारको पनि आलोचना सुरु भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यसचिव अर्याललाई जोगाउन चाहेपनि अन्ततः अख्तियारले डामेको धेरैको विश्लेषण छ ।

तर, नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा प्रधानमन्त्री प्रचण्डले गलत गर्ने कसैलाई पनि जोगाउन नचाहेको बताउँछन् । मुख्यसचिव अर्यालमाथि आरोप लागेपछि प्रधानमन्त्री प्रचण्डले विशेष चासो लिएको र उनलाई विदामा बसेर अनुसन्धानमा सघाउनसमेत आग्रह गरेको नेता सापकोटाको भनाइ छ । नेता सापकोटाका अनुसार मुख्यसचिव अर्यालले प्रधानमन्त्रीको अनुरोधलाई समेत मानिरहेका थिएनन् । प्रधानमन्त्रीले मुख्यसचिव अर्याललाई जोगाउन चाहन्थे भनेर भइरहेको टीक्का टिप्पणीमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

‘सम्मानीय प्रधानमन्त्रीज्यूले मुख्य सचिवका बारेमा प्रश्न उठेपछि के हो ? भनेर सोध्नुभयो । उहाँलाई दुई वटा विकल्प राजीनामा त उहाँले के दिनुहुन्थ्यो होला र ! तर, विदामा बसेर सहयोग गर्नका निमित्त प्रधानमन्त्रीज्यूले पटक–पटक अनुरो गरेको हो ।’ उनले भने, ‘सरकारले उहाँलाई संरक्षण गरेको भन्ने कुरा साँचो होईन । पटक–पटक उहाँलाई विदामा बसेर सहयोग गर्नका निमित्त प्रधानमन्त्रीज्यूले अनुरोध गर्नुभएकै हो । त्यो कुरा उहाँले अस्वीकार गर्दै आउनुभएको थियो ।’

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । निलम्बनमा रहेकै अवस्थामा उनलाई राष्ट्रिय योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरेर सरुवा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्