Logo

सहकारीको बचत अपचलन गर्नेले उन्मुक्ति पाउँछन् भनेर नसोच्नुहोलाः सूर्य थापा



काठमाडौं, ११ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले सहकारी ठगी प्रकरणमा संलग्न रहेको जो–कोहीले उन्मुक्ति नपाउने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको सिफारिस गरिने बताएका हुन् । अहिले सहकारी ठगीमा को–को संलग्न छन् भनेर छानविन भइरहेको बताए । सहकारी ठगी छानविनका लागि भनेको संसदीय विशेष समितिमा थापा सभापति छन् ।

‘जसले सहकारीको बचत रकम अपचलन गरेका छन्, तिनले उन्मुक्ति पाउँछन् भन्ने नठान्नु होला । तिनीमाथि छानविन हुन्छ, हामीले कानुनको छिद्राबाट पसेर त्यसो गरिएको छ भने कानुन कडा गर्न, ठगीको नियत छ भने ठगीजन्य फौजदारी कारबाही, मिलेमतोमा यताउता गरिएको छ भने त्यसमा पनि के–के गर्नुपर्ने हो ? अध्ययन हुँदैछ,’– उनले भने ।

साथै, सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोलाउने भनेर कहीँ उल्लेख नरहेको बताए । गृहमन्त्री लामिछाने कुनै कालखण्डमा सहकारीको रकम अपचलनमा संलग्न रहेको देखियो भने कारबाहीका लागि सिफारिस गरिने पनि उनले बताए । उनले आफूहरु कार्यादेशले दिएको अधिकारको पूर्ण प्रयोग गरेर सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि काम गर्ने बताए ।

‘गृहमन्त्रीलाई बोलाइहाल्ने भनेर अहिले हामीले टुङ्गो गरेका छैनौं । कथाले माग्नुपर्छ, कथाले माग्ला नि छानविन गर्दै जाँदा तथ्यले माग्यो भने बोलाउँछौं । जो संवद्ध छन्, कथाले, तथ्यले र प्रमाणले जरुरी ठान्यो भने गरौंला । गृहमन्त्रीमाथि छानविन गर्न भनेर चाहीँ हाम्रो कार्यादेशमा छैन । उहाँ गृहमन्त्री हुनुभन्दा अगाडिका विभिन्न संलग्नताहरुले उहाँ जवाफ दिने ठाउँमा देखिनुभयो, तथ्यले त्यो भन्यो भने उहाँसँग पनि सोधपुछ गरौंला,’– उनले भने ।

सहकारीको समस्या सबैको साझा रहेको बताउँदै उनले यसमा विभाजित र राजनीतीकरण गरेर तरङ्गित हुनुपर्ने कारण नरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्