Logo

माछा मार्न गएका बर्दियाका सुनारलाई भारतीय वन रक्षकले अपहरण गरेर खुट्टा भाँचिदिएको भन्दै संसद्मा उठ्यो प्रश्न



काठमाडौं,११ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले माछा मार्न गएका बर्दियाका एक युवालाई भारतीय वन रक्षकले अपहरण गरेर खुट्टा भाँचिदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले माछा मार्न गएका बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का खगेन्द्र सुनारलाई भारतीय वन रक्षकहरूले कुटपिट गरी खुट्टा भाँचिदिएको बताएका छन्।

‘सुनारलाई बन्दी बनाएर राखेका थिए, गाउँलेहरू गएर बल्लबल्ल छुटाएर ल्याए,’ प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पन्तले भने, ‘छुटाउँदा ५० हजार रुपैयाँ दिउँला भन्न उनीहरूलाई बाध्य पारे। तर ५० हजार दिन सक्ने त्यो विपन्न परिवारको अवस्था छैन। दिनदिनै फोन गरेर रकम दिन्छस कि मार्दिउँ भनेर थर्काइरहेका छन्’ ।

पूर्व मन्त्रीसमेत रहेका सांसद पन्तले ०७२ सालमा पनि यसतै घटना भएको स्मरण गराए । उनले ०७२ सालमा भारतीय वन रक्षकले वेपत्ता पारेकोमा हालसम्म घर नफर्किएको जानकारी गराए ।

‘२०७२ सालमा पनि दाउरा बटुल्न गएका राममिलन लोद र हर्कबहादुर शाहीलाई त्यसैगरी अपहरण गरिएको थियो। उनीहरूको बारेमा परिवार आजसम्म पर्खेर बसेको छ, तर आजसम्म जानकारी छैन,’ उनले भने, ‘पटक-पटक यस्ता घटना भइसक्यो, नेपालमा बसेर भारतीय वन रक्षकहरूलाई पैसा तिर्नुपर्ने किन?’।



प्रतिक्रिया दिनुहोस्

Screenshot