Logo

सीआईबी टोलीभन्दै २ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ



काठमाडौं, ११ असार । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोलीभन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको बताइएको छ ।

उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यारत थिए । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ ।

त्यसैगरी, उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् । रसाइली सिन्धुपाल्चोक बाह्रबिसेका हुन् भने राई ओखलढुङ्गाका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनीहरुलाई सार्वजनिक गरेको हो । एसएसपी सानुराम भट्टराईका अनुसार लुटपाटको योजना कूलबहादुर खत्रीले बनाएका थिए । योजनाकार खत्री डिल्लीबहादुर राउतका मामा हुन् । योजनाकार भनिएका खत्री अहिले फरार छन् ।

त्यसैगरी, पक्राउ परेका प्रहरी हबल्दार बोहरा र तामाङ सहपाठी हुन् । तामाङले लुटपाटको फाइनल योजना बनाएपछि बोहरालाई बोलाएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्