Logo

सेबोनको अध्यक्ष सिफारिसबारे अर्थलाई महान्यायाधिवक्ता कार्यालयले के दियो राय ?



काठमाडौं,११ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा ३ जनाकै नाम सिफारिस गर्नुपर्ने भएको छ । मंगलबार सेबोनको अध्यक्ष सिफारिसबारे अर्थ मन्त्रालयले मागेको रायमा जवाफ दिँदै २ जनामात्र को नाम पठाउन नमिल्ने जवाफ दिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा। नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति नभएपछि सेबोनको अध्यक्ष नियुक्ति प्रकृयामा बिलम्ब भईरहेको छ ।

सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एमालेले सन्तोषनारायणलाई अध्यक्ष बनाउन चाहेपछि अन्य तीन जना उम्मेदद्धार अन्तरवार्तामा नगएका हुन् । ५ मध्ये ३ जना अन्तरवार्तामा नआएपछि प्रकृया के गर्ने भन्नेबारेमा अन्यौलता बढेपछि अर्थले महान्यायाधीवक्ताको कार्यालयमा राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको नाममा सिफारिस गर्न वा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्न नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिलाई सुझाव दिएको छ ।

यता उच्च स्रोतका अनुसार महान्यायाधीवक्ताको कार्यालयबाट आएको रायका आधारमा तीन जनाको नाम पठाउने र सन्तोषलाई अध्यक्ष बनाउने सम्भावना बढ्दै गएको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ ।

सन्तोषलाई सेबोनमा लगेबापत एमालेले महान्यायाधिवक्ता डा दीनमणि पोखरेललाई प्रधानन्यायाधीशको लाइनमा पर्नेगरि सर्वोच्च अदालतको न्यायाधीश बनाउन सहमति जनाएको स्रोतको दाबी छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ४ अनुसार बोर्डको अध्यक्ष छनोटका लागि समितिले अनिवार्य अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्