Logo

सरकारतिर हेर्दै नहेरौं, ०८४ को निर्वाचनपछि एकल सरकार चलाउने तागत बनाऔं: महामन्त्री थापा



काठमाडौं, ११ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारतिर नजर लगाउन छाडेर संगठन निर्माणतिर लाग्नुपर्ने बताएका छन् । आज (मंगलबार) कांग्रेसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ०८४ को निर्माणसम्म पार्टीलाई स्वच्छ, सफा, बलियो र एकतावद्ध बनाउन आवश्यक रहेको बताएका हुन् । उनले ०८४ सम्म सरकार चलाउने जिम्मा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताए ।

‘यो सरकार अहिले जसले चलाइरहेको छ उसैलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टीमण्टी जो–जो मिलेका छन्, उनीहरुलाई नै दिउँ । सरकारतिर हेर्दैनहेरौं । मजाले चलाउन दिउँ र यति राम्रोसँग तयारी गरौं, पार्टी निर्माण गरौं । स्वच्छ, सफा, बलियो र एकता बनाऔं । धेरै पनि भन्दिँन म २०४८ मा गणेशमान, किसुन्जी र गिरीजाबाबु भएको बेलामा कांग्रेसले जुन मत प्राप्त गरेको हो, १६५ निर्वाचन क्षेत्रमा कम्तिमा पनि सय सिट जित्नेगरी र ४० प्रतिशत मत ल्याउन सक्नेगरी गयौं भने यही मिश्रित निर्वाचन प्रणालीमा एकल सरकार चलाउने तागतमात्रै होईन, संविधानमा लेखिएको कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने त्यो तागत नेपाली कांग्रेसले राख्छ । त्यो ताकत भएको पार्टी कांग्रेसलाई बनाउनुपर्ने छ,’– उनले भने ।

सरकारमा जानका लागि दलहरुसँग मिल्ने, लसपस गर्ने लगायतका काम प्रधानमन्त्रीलाई नै छाड्दिनुपर्ने उनको भनाइ छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीका कार्यक्रममा ‘थोरै सिट छ भनेर आत्तिन पर्दैन, हाम्रो जादुवाला नम्बर छ । मिल्यो भने पूरै अवधि सरकार चलाइन्छ’ भनी अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डको सोही अभिव्यक्तितर्फ लक्षित गर्दै उनले जादुगरी कामको जिम्मा प्रधानमन्त्रीलाई नै छाडिदिनुपर्ने बताए ।

‘अब यो धेरै लसपस गर्ने, यता मिल्ने, उता मिल्ने, कहिले त्योसँग मिल्ने, कहिले योसँग मिल्ने छोड्दिउँ । यो म जादुगर हुँ भनेजस्तो गरेर यता उफ्रने, उता उफ्रने काम प्रधानमन्त्रीलाई छाड्दिउँ । यो उहाँहरुको जिम्मा दिउँ, यो बीचमा पार्टी निर्माण गर्ने काम गरौं । हामीले आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा त्यसबाट तागत बन्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot