Logo

झलनाथको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार, मधेशका पूर्व अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर



काठमाडौं,१२ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको पुष्टि भएका छन् ।

मंगलबार विशेष अदालतले झलनाथ खनाल सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गर्दै ५ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबावु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेमा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादव, त्यस्तै अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी, र देवेन्द्र रायपनि भ्रष्टाचारी ठहर भएका हुन् । उनीहरुको सजाय निर्धारण असार २५ हुनेछ । यता लालबन्दी नगरपािलकाका पूर्व मेयर मानबहादुर खड्का र मधेशका तत्कालीन सचिव प्रेम श्रेष्ठले भने सफाइ पाएका छन् ।

आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा आयोगले झण्डै १८ करोड रुपैयाँ मागदाबी गरेको छ ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने जनाएको थियो ।

मधेस प्रदेशअन्तर्गत सर्लाहीस्थित लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल खोलिएको थियो। २०७१ मंसिर १९ मा प्रतिष्ठान दर्ता भयो। यसको मुख्य उद्देश्य सर्प उत्पादन र अनुसन्धान गर्ने भनेर राखियो। विवादमा आएपछि यो संस्थाको नामसमेत परिवर्तन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्