Logo

अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको फैसला आजपनि नसुनाइने



काठमाडौं,१२ असार । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ । आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ ।

गत जेठ २३ गते प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सकिएको थियो । भने आजका लागि फैसला मिती तोकेको थियो । अब स्थगितको सूचीमा परेकाले नयाँ पेशी तोकेर निर्णय सुनाईनेछ ।

यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै सुनुवाइ गरेको हो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्